चितवन । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई जनताले दिएको विश्वासलाई राष्ट्र निर्माण, लोकतन्त्रको सुदृढीकरण र सुशासनको पक्षमा प्रयोग गर्न आग्रह गरेका छन्। उनले तीव्र गतिमा अघि बढिरहेको रास्वपालाई राजनीतिक परिपक्वता, धैर्यता र सन्तुलन कायम गर्न पनि सुझाव दिएका छन्।
चितवनमा आइतबार सुरु भएको रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै ज्ञवालीले छोटो समयमै राष्ट्रिय राजनीतिमा प्रभावशाली उपस्थिति जनाउन सफल भएकोमा रास्वपालाई बधाई दिए। उनले जनताले परिवर्तनको अपेक्षासहित दिएको जनमतलाई सही दिशामा परिचालन गर्नुपर्नेमा जोड दिए।
रास्वपाको राजनीतिक यात्रालाई गाडीको गतिसँग तुलना गर्दै ज्ञवालीले उत्साह र ऊर्जासँगै विवेक र संयमता पनि उत्तिकै आवश्यक हुने बताए।
‘गाडीमा एक्सिलेटरसँगै ब्रेक पनि राखिएको हुन्छ। एक्सिलेटरले गति दिन्छ भने ब्रेकले दुर्घटनाबाट जोगाउँछ। यदि एक्सिलेटर मात्र थिचियो र ब्रेक प्रयोग गरिएन भने दुर्घटना हुन सक्छ,’ उनले भने, ‘त्यसैले रास्वपाले आफ्नो राजनीतिक गतिसँगै सन्तुलन, धैर्यता र संस्थागत परिपक्वतालाई पनि सँगसँगै अघि बढाउनुपर्छ।’
उनले नयाँ राजनीतिक शक्तिहरूले जनअपेक्षालाई सम्बोधन गर्न खोज्दा कहिलेकाहीँ अत्यधिक हतारो गर्ने प्रवृत्ति देखिन सक्ने उल्लेख गर्दै लोकतान्त्रिक अभ्यासमा संस्थागत सोच र दीर्घकालीन दृष्टिकोण आवश्यक हुने बताए।
ज्ञवालीले महाधिवेशनलाई केवल नेतृत्व चयन गर्ने प्रक्रियाका रूपमा मात्र नहेर्न आग्रह गर्दै यसलाई राजनीतिक विचार, कार्यदिशा र संगठनात्मक संस्कृतिलाई परिपक्व बनाउने अवसरका रूपमा उपयोग गर्नुपर्ने धारणा राखे।
उनले रास्वपालाई प्राप्त जनमतमा परिवर्तनको आकांक्षा, सुशासनको अपेक्षा र राजनीतिक सुधारको चाहना निहित रहेको उल्लेख गर्दै त्यसलाई सकारात्मक परिणाममा रूपान्तरण गर्न सके नेपाली लोकतन्त्र थप बलियो बन्ने विश्वास व्यक्त गरे।
एमाले उपमहासचिव ज्ञवालीले प्रतिस्पर्धी राजनीतिक शक्तिहरूबीच स्वस्थ लोकतान्त्रिक सम्बन्ध कायम रहनुपर्नेमा जोड दिँदै देशको समृद्धि, सुशासन र विकासका साझा मुद्दामा सहकार्यको आवश्यकता पनि औँल्याए।
चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भई शुभकामना मन्तव्य दिइरहेका छन्। महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन हुनुका साथै आगामी राजनीतिक कार्यदिशा, संगठनात्मक संरचना र नीतिगत विषयमा महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ।


