+

पाँच वर्षमा सरकारी सहुलियत लिने क्यान्सरका बिरामी २८ हजार नाघे

१३ असार २०८३, शनिबार २०:२१

काठमाडौँ । नेपालमा विगत पाँच वर्षको अवधिमा क्यान्सरका बिरामीको संख्या करिब दोब्बरले बढेको छ। सरकारबाट उपचार खर्चबापत सहुलियत लिने क्यान्सरका बिरामीको संख्या निकै बढेको स्वास्थ्य सेवा विभागको सामाजिक सुरक्षा तथा नर्सिङ महाशाखाले जनाएको छ।

महाशाखाकी निर्देशक हिरादेवी निरौलाका अनुसार आर्थिक वर्ष २०७७/७८ मा १५ हजार १८७ क्यान्सरका बिरामी रहेकामा आर्थिक वर्ष २०८१/८२ मा यो संख्या बढेर २८ हजार ६७८ पुगेको छ। जनचेतनाको कमीले क्यान्सर रोग लाग्ने गरेको पाइएकाले यसबाट बच्न सरकार र नागरिक समाज सबै मिलेर जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा उनले जोड दिइन्।

महाशाखाका अनुसार आर्थिक वर्ष २०७८/७९ मा १९ हजार ३१, आर्थिक वर्ष २०७९/८० मा १६ हजार ६९६ र आर्थिक वर्ष २०८०/८१ मा २२ हजार १५३ जना क्यान्सरका बिरामीले उपचार खर्च लिएका छन्। महाशाखाले विपन्न नागरिक औषधि उपचार कोषबाट क्यान्सर पीडितका लागि १ लाख रुपैयाँसम्मको उपचार व्यवस्था गर्दै आएको छ भने प्रदेश सरकारहरूले पनि थप १ लाख रुपैयाँसम्मको सहायता प्रदान गर्दै आएका छन्।

शरीरको कोष तथा कोषिकाहरूको समूहको अस्वाभाविक वृद्धिलाई क्यान्सर रोग भनिन्छ, जसलाई एक प्रकारको गिर्खा वा ट्युमर पनि भनिने गरिन्छ। नेपालमा विशेष गरी फोक्सोको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पेटको क्यान्सर र आन्द्राको क्यान्सर प्रमुख रूपमा देखिएका छन्। पुरुषहरूमा फोक्सो, पेट, आन्द्रा, मुख र थाइराइडको क्यान्सर बढी देखिएको छ भने महिलाहरूमा पाठेघरको मुख, स्तन, फोक्सो, पित्तथैली र डिम्बाशयको क्यान्सर बढी पाइएको महाशाखाले जनाएको छ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले अत्यधिक मद्यपान, सुर्तीजन्य पदार्थको सेवन, खानपिन, आधुनिक जीवनशैली, आरामको कमी, विकिरणको प्रभाव, जीवाणु र वंशाणुगत कारणले क्यान्सर निम्त्याउने स्पष्ट पारेका छन्। ‘हामी भात, दाल, तरकारी र अचार जस्ता परम्परागत खाना छाडेर बढीजसो फास्टफुड, जङ्कफुड, धुम्रपान, मद्यपान र पोलेका खानेकुरा खान्छौँ। व्यायाम नगर्दा र सडेगलेका तथा बासी खानेकुरा खाँदा क्यान्सरको जोखिम धेरै हुन्छ,’ उनले भने, ‘मोटोपन क्यान्सर हुने जोखिमको दोस्रो ठूलो कारक हो।’

डा. शाहीका अनुसार खानपिन, आराम, नियमित व्यायाम, धुम्रपान र मद्यपानको नियन्त्रणका साथै मोटोपनलाई रोक्न सके क्यान्सरको जोखिमलाई धेरै हदसम्म कम गर्न सकिन्छ। नेपालमा सबैभन्दा बढी फोक्सो र त्यसपछि महिलाको पाठेघरको मुखमा हुने क्यान्सरको समस्या छ।

सरकारले पाठेघरको मुखको क्यान्सर विरुद्ध किशोरीहरूका लागि ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ। सरकारी तहबाटै क्यान्सरको विशिष्टीकृत उपचारका लागि भक्तपुर क्यान्सर अस्पताल, चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल सञ्चालनमा रहेका छन्।