खोटाङ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्ले र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको सीमा नजिक पर्ने चर्चित घर्तीभिरको विशाल चट्टान फुटाएर सडक निर्माण कार्य सम्पन्न भएको छ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट आहाले-रेग्मीटार हुँदै सगरमाथा राजमार्ग जोड्ने यो छोटो दूरीको सडकखण्ड खोल्न लामो समयदेखि बाधक बनिरहेको घर्तीभिरलाई अन्ततः पन्छाइएको हो।
यसअघि गोरेटो बाटो मात्र रहेको यो कडा पहरा काट्न कसैले आँट नगरेको भए तापनि कोशी प्रदेश सरकारअन्तर्गत खोटाङमा भौतिक पूर्वाधार कार्यालय स्थापना भएपछि बजेट व्यवस्थापन गरेर यो जटिल काम सम्भव पारिएको हो।
कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास कार्यालय खोटाङमार्फत कुल एक करोड सात लाख ७८ हजार रुपैयाँको लगानीमा यो सडक निर्माण गरिएको हो। मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन गरेको दुई करोड बजेटमध्ये ठेक्का प्रक्रियामार्फत कमला कस्ट्रक्सन एन्ड सप्लायर्स उदयपुरले एक करोड सात लाख रुपैयाँमा सम्झौता गरेर चट्टान फुटाउने जिम्मेवारी लिएको थियो।
ठेकेदार कम्पनीले २०८२ सालको माघ महिनामा ठेक्का सम्झौता गरी करिब पाँच महिना लगाएर स्काभेटर र ब्रेकरको प्रयोगद्वारा घर्तीभिरमा सडकको मार्ग खोलेको हो। साप्सुखोला किनारमा रहेको यो भिर फोरेर सडक मार्ग खुलेपछि शनिबार कोशी प्रदेश सरकारका निवर्तमान भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले आहाले-रेग्मीटार-सगरमाथा राजमार्ग जोड्ने यस सडकको औपचारिक उद्घाटन समेत गरिसक्नुभएको छ।
यसअघि दिक्तेलबाट तराईका जिल्ला आवतजावत गर्न महुरे-बुइपा-राजापानी-रेग्मीटार-फोक्सिङटार हुँदै गाईघाट जाने लामो र घुमाउरो मार्ग प्रयोग गर्नुपर्ने बाध्यता थियो। सगरमाथा लोकमार्गको कहुरे-फोक्सिङटार सडक निकै लामो भएपछि त्यसको विकल्पका रूपमा दिक्तेल-खानीडाँडा-आहाले-रेग्मीटार सडक खण्डलाई अघि सारिएको हो।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईका अनुसार पुरानो रैथाने सडकको तुलनामा यो नयाँ सडकखण्ड साढे १७ किलोमिटर छोटो छ। नगरपालिकाले आफ्नो तर्फबाट डेढ करोड रुपैयाँभन्दा बढी बजेट खर्चिएर घर्तीभिरको दुवैतर्फ कच्ची सडक निर्माण गरिसकेको अवस्थामा मुख्य बाधक रहेको घर्तीभिरको चट्टान हटेपछि अब यस मार्गमा नियमित यातायात सञ्चालन गर्ने योजना बनाइएको छ।
यो सडक सञ्चालनमा आएसँगै दिक्तेलबाट उदयपुरको गाईघाट हुँदै पूर्वी तराईका विभिन्न जिल्लाहरूमा गरिने यात्रा निकै सहज र छोटो हुनेछ। यसका साथै जिल्लामा खाद्यान्न, हार्डवेयर, इन्धन जस्ता दैनिक उपभोग्य वस्तुहरूको ढुवानीमा समेत ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।
यसै सडकखण्डको स्तरोन्नति र यातायातलाई थप सहज बनाउन पूर्वाधार विकास कार्यालयले गत वर्ष नै ठेक्का लगाइसकेको छ भने प्रदेश सडक पुल सहयोग एकाइ इटहरी र मन्त्रालयबाट प्राप्त तीन करोड बजेटमा दिखुवाखोलामा मोटरेबल पुल निर्माणको काम समेत अघि बढिरहेको छ।
दिखुवाखोलामा बन्ने ट्रस पुलका लागि आवश्यक दुई करोडभन्दा बढी मूल्यको स्टिल ट्रस निर्माणस्थलमा ढुवानी भइसकेको छ। पुल नहुँदा वर्षायाममा करिब छ महिना यातायात ठप्प हुने समस्या रहेकाले यो मोटरेबल पुल बनेपछि कालोपत्रे हुँदै गरेको यस छोटो मार्गबाट बाह्रै महिना सहज यात्रा सम्भव हुनेछ।


