लमजुङ। वर्षायाममा यात्रा गर्दा जोखिम बढ्ने सम्भावनालाई मध्यनजर गर्दै आज (मंगलबार) देखि रात्रिकालीन समयमा बेँसीसहर–चामे सडक र पुष्पलाल (मध्यपहाडी) लोकमार्गमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
सोमबार बसेको जिल्ला सुरक्षा समिति लमजुङको बैठकले यस वर्षको मनसुनजन्य विपद्बाट हुन सक्ने सम्भावित जनधनको क्षति न्यूनीकरण गर्न असार मसान्तसम्मका लागि अत्यावश्यक बाहेकका अन्य सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।
लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमका अनुसार, बेँसीसहर-चामे सडकको बेँसीसहरदेखि मनाङ जिल्लाको सिमानासम्मको खण्डमा प्रत्येक दिन साँझ ६:०० बजेदेखि बिहान ६:०० बजेसम्म सवारी चलाउन पाइने छैन।
त्यस्तै, पुष्पलाल मध्यपहाडी लोकमार्गको सुन्दरबजार-भोर्लेटार सडकखण्ड अन्तर्गत बिमिरे भञ्ज्याङ क्षेत्रमा प्रत्येक दिन साँझ ७:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ।
यद्यपि, यी सडकखण्डहरूमा एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक सेवाका सवारीसाधनहरूलाई भने गुड्न दिइने उनले प्रस्ट पारे। जिल्ला प्रशासन कार्यालय लमजुङले सुरक्षा समितिको यो निर्णय सार्वजनिक गर्दै सर्वसाधारणमा पर्न जाने असुविधाप्रति क्षमासमेत मागेको छ।
मौसम पूर्वानुमान अनुसार आजदेखि भारी वर्षाको सम्भावना रहेकाले रात्रिकालीन समयमा हुन सक्ने सम्भावित दुर्घटना र जोखिम न्यूनीकरणका लागि यो कदम चालिएको सहायक प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिए। वर्षाको समयमा यी क्षेत्रमा पहिरो जाने ठूलो सम्भावना रहने भएकाले पूर्वसावधानी स्वरूप यो उपाय अवलम्बन गरिएको उनको भनाइ छ।
बेँसीसहरदेखि मनाङको सिमाना म्यार्दी खोलासम्मको दूरी ३५ किलोमिटर छ भने मनाङको सदरमुकाम चामे पुग्न ६५ किलोमिटर यात्रा गर्नुपर्छ। लमजुङको उत्तरी क्षेत्रका स्थानीय बासिन्दा र मनाङबासीका लागि यो सडक जीवनरेखा मानिन्छ।
लमजुङ र मनाङ जोड्ने एकमात्र सडक भएकाले बर्सेनि बर्खायाममा विभिन्न ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भई मनाङबासीले ठूलो सास्ती खेप्दै आएका छन्। सडक लामो समय अवरुद्ध हुँदा स्थानीयहरू महँगो भाडा तिरेर हेलिकप्टरमार्फत आवतजावत गर्न बाध्य हुने गरेका छन्।
यसैगरी, मध्यपहाडी लोकमार्ग अन्तर्गत राइनास नगरपालिकादेखि मध्यनेपाल नगरपालिका हुँदै कास्की जिल्लाको सिमानासम्म लमजुङ खण्डमा ४८ किलोमिटर सडक पर्दछ।
यस सडकको विशेष गरी मध्यनेपाल नगरपालिका-१०, बिमिरे भञ्ज्याङ क्षेत्रमा बर्सेनि ठुलो पहिरो जाने र सडक अवरुद्ध हुने समस्या छ। यो सडक विशेष गरी लमजुङ र मनाङका स्थानीय बासिन्दाले पोखरा आउजाउ गर्नका लागि प्रयोग गर्ने गर्दछन्।


