+

स्विडेनलाई हराउदै फ्रान्स विश्वकपको अन्तिम १६ मा

१७ असार २०८३, बुधबार ०७:०४

काठमाडौं। फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी (मेटलाइफ) रंगशालामा भएको खेलमा स्विडेनमाथि ३-० को सहज जित निकाल्दै फ्रान्स प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ।

फ्रान्सको यो एकपक्षीय जितसँगै अब उसले नकआउट चरणमा पाराग्वेको सामना गर्ने तय भएको छ।

फ्रान्सलाई जिताउन स्टार स्ट्राइकर किलियन एम्बाप्पेले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरे। उनले पहिलो हाफको अन्तिम समय अर्थात् खेलको ४५औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

दोस्रो हाफमा थप आक्रामक बनेको फ्रान्सका लागि ५३औँ मिनेटमा युवा विङ्गर ब्राडली बारकोलाले गोल गर्दै अग्रता दोब्बर बनाए। त्यसपछि खेलको ७४औँ मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्सले ३-० को निश्चित जित सुनिश्चित गर्‍यो। स्विडेनले खेल अवधिभर फ्रान्सेली रक्षापङ्क्ति तोड्न नसक्दा स्तब्ध हुनुपर्‍यो।

विश्वकपको अन्तिम ३२ को समीकरणअन्तर्गत गएराति भएको अर्को रोमाञ्चक खेलमा नर्वेले आइभरी कोस्टलाई २-१ गोलअन्तरले पराजित गर्दै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरिसकेको छ, जहाँ उसले ब्राजिलको सामना गर्नेछ। यसैगरी, आजै बिहान ६ः४५ बजे मेक्सिको र इक्वेडोरबीच अर्को प्रतिस्पर्धात्मक खेल हुँदैछ।