काठमाडौँ। सरकारले देशभरका सबै निजी अस्पताल तथा क्लिनिकमा अनिवार्य रूपमा स्तनपान कक्ष (ब्रेस्टफिडिङ रुम) स्थापना गरी व्यवस्थित रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले एक पत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। महाशाखाका निर्देशक डा. मदनकुमार उपाध्यायद्वारा हस्ताक्षरित पत्रमा स्तनपान गराइरहेका आमाहरूलाई सार्वजनिक स्थल, स्वास्थ्य संस्था, कार्यस्थल तथा आपतकालीन अवस्थामा समेत सहज रूपमा स्तनपान गराउन उपयुक्त वातावरण उपलब्ध गराउने उद्देश्यले यो व्यवस्था लागू गरिएको उल्लेख छ।
महाशाखाले ‘स्तनपान प्रवर्द्धन, संरक्षण तथा सहयोगका लागि स्तनपान कक्ष स्थापना तथा सञ्चालन कार्यविधि, २०८०’ अनुसार निजी स्वास्थ्य संस्थाहरूमा स्तनपान कक्ष स्थापना र सञ्चालन अनिवार्य गरिएको जनाएको छ।
यसअनुसार सबै निजी अस्पताल तथा क्लिनिकलाई यथाशीघ्र स्तनपान कक्ष स्थापना गरी प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशन दिइएको छ। उक्त पत्रको बोधार्थ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव, स्वास्थ्य सेवा विभागका महानिर्देशक तथा मन्त्रालयको सार्वजनिक सूचना समन्वय शाखालाई समेत पठाइएको छ।


