+

पाकिस्तानमा वर्षा जन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते

१८ असार २०८३, बिहीबार १५:०३

इस्लामावबद । भारी मनसुनी वर्षासँगै आएको आँधीबेहरी र तीव्र हावाले प्रहार गर्दा पाकिस्तानमा कम्तिमा ११ जनाको मृत्यु हुनुका साथै २७ जना घाइते भएको अधिकारीहरूले बिहीबार बताएका छन् ।

प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) का अनुसार उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा, एक महिला र तीन जना बच्चासहित छ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । वर्षाले दुईवटा घरहरुलाई पूर्ण रूपमा क्षेतिग्रस्त बनाउनुका साथै ३८ वटा घरलाई आशिंक क्षति पुगेको जनाइएको छ ।

पूर्वी पञ्जाब प्रान्तमा, अटक जिल्लामा भारी वर्षाका कारण पर्खाल ढल्दा दुई जना बच्चाहरूको मृत्यु हुनका साथै अन्य ३ जना घाइते भएको जनाइएको छ । यसै गरी दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा, एक महिला र बच्चाहरूसहित तीन जनाको ज्यान गएको र अन्य ५ जना घाइते भएको बताइएको छ ।

अधिकारीहरूले आगामी दिनमा थप वर्षाको चेतावनी दिदै जोखिमपूर्ण क्षेत्रका बासिन्दाहरूलाई आकस्मिक बाढी, पहिरो र वर्षासँग सम्बन्धित अन्य खतराहरू विरुद्ध सावधानी अपनाउन आग्रह गरेका छन् ।