+

डा. चेतना पौडेलको गिरफ्तारी प्राकृतिक चिकित्सा क्षेत्रमाथिको प्रहार हो: योग तथा प्राकृतिक चिकित्सा संघ

२१ असार २०८३, आईतवार १०:३८

काठमाडौं। योग तथा प्राकृतिक चिकित्सा संघले नेपाल सरकारसँग योग, आयुर्वेद तथा प्राकृतिक चिकित्सा विधिलाई विशेष प्राथमिकतामा राख्न माग गरेको छ।

९औँ राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसको अवसरमा शनिबार राजधानीको संवाद डबलीमा आयोजित कार्यक्रमका वक्ताहरूले वरिष्ठ चिकित्सक डा. चेतना पौडेललाई अनावश्यक विवादमा तानेर पक्राउ गरिएको भन्दै आपत्ति जनाएका हुन्।

कार्यक्रममा संघका अध्यक्ष डा. जनक बहादुर बस्नेतले विश्वभर अत्यन्तै प्रभावकारी र लोकप्रिय बन्दै गइरहेको प्राकृतिक चिकित्सालाई नेपाल सरकारले प्राथमिकतामा नराख्नु दुर्भाग्यपूर्ण भएको बताए।

पछिल्लो समय देशमा अत्यधिक रूपमा बिरामीहरूको संख्या बढ्दै जानुमा राज्यले प्राकृतिक चिकित्साको संवेदनशीलता र महत्त्वलाई सही ढंगले बुझ्न नसक्नु नै मुख्य कारण रहेको उनको भनाइ थियो।

डा. चेतना पौडेलको गिरफ्तारी र उनीमाथि चलाइएको अनुसन्धान प्रक्रिया समग्र प्राकृतिक चिकित्सा क्षेत्रमाथिकै प्रहार भएको आरोप लगाउँदै अध्यक्ष बस्नेतले उनको शैक्षिक पृष्ठभूमिसमेत प्रस्ट पारे।

डा. पौडेलले भारतको प्रतिष्ठित ‘राजीव गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्सेज’ ब्याङ्ग्लोरबाट साढे पाँच वर्षको मेडिकल कोर्स पूरा गरी २१ वर्षदेखि निरन्तर चिकित्सकीय अभ्यासमा रहेको जानकारी दिँदै दुई दशकभन्दा बढी समय सेवा गरिसकेकी योग्य चिकित्सकलाई नक्कली भन्नु न्यायसंगत नभएको उनले जिकिर गरे।

सोही अवसरमा पीडित चिकित्सक डा. चेतना पौडेलले आफूले योग तथा प्राकृतिक चिकित्सासम्बन्धी उच्च शिक्षा हासिल गरी नेपाल स्वास्थ्य व्यवसायी परिषद्‌मा समेत विधिवत् दर्ता भएर दुई दशकभन्दा बढी समयदेखि यही पेसामा समर्पित रहँदा रहँदै पनि आफूमाथि पूर्वाग्रह राखिएको भन्दै गहिरो दुःख व्यक्त गरे।

यस्तै प्रा. डा. सञ्जय पोखरेलले विश्वव्यापी रूपमा स्थापित भइसकेको योग तथा प्राकृतिक चिकित्सालाई नेपाल सरकारले विशेष प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिए।

उनले डा. पौडेललाई राज्यले विनाकारण विवादमा तानेर प्राकृतिक चिकित्सा पद्धतिलाई नै बदनाम गराउन खोजेको आरोप लगाए। अर्का वक्ता डा. हेमराज कोइरालाले प्राकृतिक चिकित्सा पद्धतिको विकासक्रमबारे प्रकाश पार्दै यस विधिको उद्गम थलो मानिएको नेपालमै यो क्षेत्र सधैँ ओझेलमा पर्नु र हेला हुनु चिन्ताको विषय भएको उल्लेख गरे।

डा. रविनलाल श्रेष्ठले ‘ब्याचलर अफ नेचुरोप्याथी एन्ड योगिक साइन्सेज’ (बीएनवाईएस) एक वैज्ञानिक, प्रभावकारी र प्रमाणित चिकित्सा पद्धति भएकाले यसको अपरिहार्यता बढ्दै गएको बताए।

उनले नेपालमा योग तथा प्राकृतिक चिकित्साको कानुनी मान्यता र यसका ऐतिहासिक तथ्यहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा डा. सन्जु खईजुले प्राकृतिक चिकित्साको प्रभावकारिता र महत्त्वलाई बुझेर राज्यले यस क्षेत्रलाई थप प्रोत्साहन गर्नुपर्ने धारणा राखिन्।

सोही कार्यक्रमको अवसर पारेर योग तथा प्राकृतिक चिकित्साको अध्ययन पूरा गरेका नयाँ चिकित्सकहरूलाई सम्मानसमेत गरिएको थियो।