+

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

२१ असार २०८३, आईतवार २२:०६

काठमाडौं । नेपालको यात्रा क्षेत्रमा नयाँ अवधारणाको रूपमा आफूलाई प्रस्तुत गर्दै गुरूबस प्रालिले आफ्नो इन्टरसिटी बस टिकटिङ एप तथा भाडा गाडी सेवा औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

कम्पनीले आफूलाई नेपालको पहिलो ‘Dharmic Travel Ecosystem’ का रूपमा परिचित गराउँदै प्रविधि र सेवालाई एउटै संरचनाभित्र समेट्ने प्रयास गरेको जनाएको छ । कार्यक्रमको मुख्य आकर्षणको रूपमा मञ्चको बीचभागमा ‘Eternal Founder’ उल्लेख गरिएको श्री कालभैरवको तस्बिर फूलमाला, धुप तथा दियोसहित सजाएर राखिएको थियो । कार्यक्रममा सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विनय गौतमले कम्पनीको अवधारणा आफूले सिर्जना गरेको नभई आफूलाई देखाइएको र आफू त्यसको कार्यान्वयनकर्ता मात्र भएको बताए ।

उनले भने, ‘यो कम्पनी मेरो होइन, उहाँको हो । म उहाँको हात मात्र हुँ ।’ अन्य बस बुकिङ प्लेटफर्महरूसँगको भिन्नताबारे प्रश्न गर्दा उनले गुरूबसको उद्देश्य टिकट बिक्रीभन्दा बाहिर सम्पूर्ण यात्राको अनुभवलाई सेवा प्रदान गर्नु रहेको बताए । उनले भने, ‘यात्रा भनेको केवल टिकट काट्नु होइन, घर छोड्नु, बाटो हिँड्नु, मन्दिर पुग्नु, आफन्त भेट्नु र सकुशल घर फर्किनु हो ।’ कम्पनीले आफूलाई बजार प्रतिस्पर्धाभन्दा सेवा केन्द्रित संस्थाको रूपमा परिभाषित गर्दै अन्य प्लेटफर्महरूप्रति सम्मान व्यक्त गरेको छ ।

गुरूबसले आफ्नो स्वामित्व संरचनामा श्री कालभैरवलाई ११ प्रतिशत हिस्सासहित Eternal Founder को हैसियत दिएको जनाएको छ । कम्पनीका अनुसार उक्त हिस्साबाट प्राप्त नाफा मन्दिर संरक्षण, बेवारिसे पशुको स्याहार, वृद्धवृद्धाको सहयोग, अनाथ बालबालिकाको अध्ययन सहयोग तथा पुनर्स्थापनासम्बन्धी सामाजिक कार्यमा खर्च गरिनेछ । कम्पनीले आजैदेखि सातवटा प्रमुख रुटमा चौध गन्तव्यसम्म इन्टरसिटी बस सेवा सुरु गरेको जनाएको छ । यात्रुहरूले QR टिकट, eSewa, Khalti, FonePay तथा बैंकिङ माध्यमबाट डिजिटल भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ ।

यससँगै व्यक्तिगत तथा समूह यात्राका लागि भाडा गाडी सेवा पनि सुरु गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार भविष्यमा आध्यात्मिक तीर्थयात्रा प्याकेज, ट्रेकिङ, होटल बुकिङ तथा फ्लाइट टिकटिङ सेवा पनि यही प्लेटफर्मभित्र समावेश गरिनेछ । इन्टरनेट पहुँच नभएका क्षेत्रका यात्रुहरूका लागि WhatsApp, SMS तथा USSD मार्फत बुकिङ सुविधा उपलब्ध गराइने र देशभर एजेन्ट नेटवर्क विस्तार गरिने योजना कम्पनीले सार्वजनिक गरेको छ ।

गुरूबसका अनुसार नेपालमा वार्षिक करिब १ करोड ५४ लाख बस यात्रा हुने अनुमान गरिएको छ, जसमध्ये अधिकांश अझै म्यानुअल प्रणालीमा आधारित छन् । कम्पनीले बस अपरेटरहरूलाई निःशुल्क रूपमा प्लेटफर्ममा आबद्ध गराउने र सफल बुकिङपछि मात्र ८ प्रतिशत कमिसन लिने व्यवसायिक मोडेल अपनाएको जनाएको छ ।

कम्पनीले आफ्नो नाराका रूपमा ‘Guaranteed Seat. Secure Payment. 11% Seva. Divine Suraksha. Your Journey Is Divine.’ प्रस्तुत गरेको छ ।