काठमाडौं । ब्राजिलका चर्चित फुटबलर नेईमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। सन् २०२६ को फिफा विश्वकप अन्तर्गत अन्तिम–१६ मा नर्वेसँग २–१ गोल अन्तरले पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि उनले राष्ट्रिय टोलीबाट आफ्नो यात्रा समाप्त भएको घोषणा गरेका हुन्।
खेलपछि भावुक देखिएका ३४ वर्षीय नेईमारले अब ब्राजिलका लागि नखेल्ने बताउँदै आफ्नो अन्तर्राष्ट्रिय करिअर समाप्त भएको प्रतिक्रिया दिएका छन्। उक्त खेलमा उनले इन्जुरी समयमा पेनाल्टीमार्फत ब्राजिलका लागि एकमात्र गोल गरेका थिए, तर टोलीलाई हारबाट जोगाउन भने सकेनन्।
करिब १६ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरमा नेईमार ब्राजिलका सर्वाधिक गोलकर्ता बने। उनले १३० अन्तर्राष्ट्रिय खेलमा ८० गोल गर्दै ब्राजिलको फुटबल इतिहासमा आफ्नो नाम स्वर्णाक्षरमा लेखाए। उनले चारवटा विश्वकप खेलेका थिए भने सन् २०१६ मा ब्राजिललाई ओलम्पिक स्वर्ण पदक जिताउन पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
नेईमारको सन्याससँगै ब्राजिलियन फुटबलको एक स्वर्णिम युगको अन्त्य भएको विश्लेषण गरिएको छ। यद्यपि उनले क्लब फुटबलमा भने आफ्नो भविष्यबारे कुनै अन्तिम निर्णय सार्वजनिक गरेका छैनन्।


