+

मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

२३ असार २०८३, मंगलवार १३:४५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयन स्थितिको वार्षिक समीक्षा गरी प्रतिवेदन मंगलबार सार्वजनिक गरेको हो ।

नेपाल राष्ट्र बैंक ऐनमा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष मौद्रिक नीतिसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दा बैंकले अघिल्लो वर्ष अवलम्बन तथा लागू गरेको मौद्रिक नीतिको सिंहावलोकन र मूल्याङ्कन गर्नुपर्ने व्यवस्था रहेको छ ।

प्रतिवेदनमा आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति तर्जुमा गर्दाका समयमा विद्यमान समष्टिगत आर्थिक परिदृश्य, नीति तथा कार्यक्रमको कार्यान्वयनमा देखिएका चुनौती एवम्सोको कार्यान्वयन स्थितिको समीक्षा गरिएको छ ।

वार्षिक समीक्षा प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि मुद्रास्फीति ५.० प्रतिशतको सीमाभित्र कायम राख्ने लक्ष्य लिइएकोमा चालु आर्थिक वर्षको दश महिनासम्मको औसत उपभोक्ता मुद्रास्फीति २.६६ प्रतिशत रहेको छ । २०८३ वैशाख महिनामा वार्षिक विन्दुगत मुद्रास्फीति ५.०४ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८२/८३ को लागि विस्तृत मुद्रा प्रदायको वृद्धिदर १३.० प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जाको वृद्धिदर १२.० प्रतिशतसम्म रहने प्रक्षेपण गरिएकोमा २०८३ वैशाखमा विन्दुगत आधारमा विस्तृत मुद्रा प्रदायको वृद्धिदर १५.२ प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जाको वृद्धिदर ६.५ प्रतिशत रहेको छ ।