+

सम्पत्ति छानबिन आयोगमा ११ हजार उजुरी

२५ असार २०८३, बिहीबार १५:५२

काठमाडौँ । सम्पत्ति छानबिन आयोगमा ११ हजार उजुरी परेको छ । आजको प्रतिनिधि सभाको बैठकमा शिक्षामन्त्री सस्मित पोखरेलले ११ हजार उजुरी परेको जानकारी दिए ।

‘राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको गैरकानूनी सम्पत्ति छानबिन गरी कारवाहीका लागि सिफारिस गर्न जाँचबुझ आयोग ऐन २०२६ बमोजिम सम्पत्ति छानबिन आयोग गठन गरिएको छ । हालसम्म ११ हजारभन्दा बढी सम्पत्ति विवरण तथा उजुरी सङ्कलन गरिएको छ,’ पोखरेलले भने ।

आएको उजुरीको अभिलेखीकरण र प्रारम्भिक विश्लेषण जारी भइसकेको र काम अगाडि बढिरहेको उनको भनाइ छ।

सरकारले २०६२/६३ देखि २०८२/८३ सम्म सार्वजनिक पद धारण गरेका राजनीतिक पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय सम्पत्ति छानबिन आयोग गठन गरेको छ।