+

भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ३ हजार ८११ पुग्यो

२५ असार २०८३, बिहीबार १७:५९

भेनेजुएलामा आएको दुई शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या तीन हजार ८११ पुगेको छ । राष्ट्रिय सभाका अध्यक्ष जर्ज रोड्रिगेजले भूकम्पबाट ३८११ को ज्यान गएको जानकारी दिदै भूकम्पमा १६ हजार ७४० जना घाइते भएका छन् भने १७ हजार ९०७ जना विस्थापित भएका छन् ।

त्यस्तै अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पपछि पुनः अन्तर्राष्ट्रिय समुदायसँग भेनेजुएलामाथि लगाइएका प्रतिबन्धहरू खुकुलो बनाउन आग्रह गरेकी छन् । उनका अनुसार विदेशमा रोकिएका भेनेजुएलाका सम्पत्ति र आर्थिक स्रोत खुला गरिए पुनर्निर्माण, रोजगारी सिर्जना तथा शिक्षा कार्यक्रम सञ्चालनका लागि आवश्यक स्रोत जुटाउन सहज हुनेछ ।

डेल्सी रोड्रिगेजले बेलायतका राजा चार्ल्सलाई पत्र लेख्दै बैङ्क अफ इङ्गल्यान्डमा रहेको भेनेजुएलाको सुन फुकुवा गरिदिन अनुरोध गरेकी छन् । उनले यस विषयमा अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रमुखसँग पनि छलफल भएको जानकारी दिएकी छन् । बैङ्क अफ इङ्गल्यान्डमा भेनेजुएलाको करिब ३१ टन सुन राखिएको छ । उक्त सुन फिर्ता गर्ने विषयमा लामो समयदेखि बेलायती अदालतमा कानुनी विवाद चलिरहेको छ ।

पछिल्ला दुई दशकमा अमेरिका, युरोपेली सङ्घ तथा अन्य केही देशहरूले भेनेजुएलामाथि विभिन्न आर्थिक प्रतिबन्ध लगाएका छन् । यद्यपि, भूकम्पपछि अमेरिकाले मानवीय सहायता र पुनःस्थापना कार्यमा अवरोध नहोस् भन्ने उद्देश्यले राहतसँग सम्बन्धित केही आर्थिक कारोबारका लागि चार महिनाको सीमित छुट दिएको छ ।