काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले प्रतिनिधि गणेश नेपालीको आत्मदाह प्रकरणमा सांसदहरूले उठाएको प्रश्नमा प्रतिप्रश्न गरेका छन् ।
शुक्रबारको संसद्मा गृहमन्त्रीले सांसदहरूलाई प्रश्न गर्दै भने, ‘तपाईँहरू हिजो अस्पतालमा कति जना हुनुहुन्थ्यो ?’
गृहमन्त्री गुरुङले आफू स्टन्टबाजी गर्न नआएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा कोल्दै उनले आफू जनताको सेवाका लागि आएको बताए ।
गणेश नेपालीले आत्मदाह प्रयास गरेपछि वीर अस्पतालमा गएर आफूले उपचारमा कुनै अभाव हुन नदिन लागिपरेको उल्लेख गर्दै उनले भने, ‘उहाँलाई सेफ ट्रान्सफर गर्न हामी रातभर लागिपरेका थियौँ ।’
‘घाँटी चिच्याएर मात्रै हुँदैन । जनताको सेवा गर्छु भनेर मुखले बोलेर हुँदैन । त्यो मुखले बोलेको ५० औं वर्ष भइसक्यो । हामीले हातले गर्नुपर्छ,’ उनले भने, ‘आफ्नो जनताको सेवा ठाउँमा गएर गर्नुपर्छ । त्यसलाई तपाईंहरू स्टन्टबाजी भन्नुहुन्छ । मलाई इच्छा छैन कसैको लागि स्टन्टबाजी गर्नका लागि । म आफ्नो देशको सेवा गर्न आएको हो ।’


