काठमाडौं । नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै निष्पक्ष भूमिका निर्वाह गर्न आग्रह गरेको छ। सोमबार सिंहदरबारमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुखको भूमिकालाई लिएर प्रश्न उठाएका हुन्।
नेता आङ्देम्बेले सभामुख अर्याललाई विपक्षी दलहरूको ‘नाडी छाम्ने’ प्रयास नगर्न चेतावनी दिए। संसद्मा कुनै विषयमा विरोध हुँदा सबै विपक्षी दलहरूलाई बोल्न नदिई, सबैको तर्फबाट एक जनाले मात्र धारणा राख्नुपर्ने सभामुखको पछिल्लो अडानप्रति उनले आपत्ति जनाए।
संसद्को गरिमा र तटस्थतामा जोड दिँदै नेता आङ्देम्बेले भने, सभामुख कुनै पनि दलको सदस्य हुनुहुन्न। संसद्मा आफ्नो भूमिका कस्तो हुनुपर्छ भन्ने कुरा उहाँले बुझ्न आवश्यक छ। दलीय स्वार्थभन्दा माथि उठेर भूमिका निर्वाह गर्नुभयो भने मात्र सदनको कामकारबाही सहज रूपमा अगाडि बढ्छ।
सत्तापक्षका तर्फबाट सदनमा पटक-पटक विवादित अभिव्यक्ति आउँदा पनि संसदीय कार्यसूची सञ्चालनमा विपक्षी दलले देखाएको सहृदयतालाई कमजोरीका रूपमा नबुझ्न उनले चेतावनी दिए। उनले भने, ‘हामीले सदन सञ्चालनमा जुन सहयोग गरेका छौँ, त्यो मुलुकको हितलाई ध्यानमा राखेर गरिएको हो। यसलाई हाम्रो कमजोरी नठानियोस्।’
कांग्रेसले सदनमा उत्पन्न हुनुका पछाडि सत्तापक्ष र सभामुखबीचको समन्वयको अभावलाई मुख्य कारक मानेको छ। विपक्षी दलहरूसँग उचित समन्वय नगरी अघि बढ्ने शैलीले संसद्को कामकारबाहीमा अवरोध सिर्जना भइरहेको नेता आङ्देम्बेको जिकिर छ। उनले सदनमा सबै दलका प्रतिनिधिले आफ्ना विचार राख्न पाउने वातावरण सुनिश्चित गर्न सभामुखको ध्यानाकर्षण गराए।


