+

काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा

२९ असार २०८३, सोमबार १८:२६

काठमाडौं। काठमाडौँ उपत्यकासहित देशका अधिकांश भूभागमा अहिले मनसुनी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही क्षेत्रबाहेक अन्य सबै प्रदेशका अधिकांश स्थानमा वर्षा रेकर्ड गरिएको छ।

हाल देशैभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि अर्थात् नेपालको तराई भूभाग नजिक रहेकाले वर्षा व्यापक भएको हो। विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले वर्षा गराउने यो मौसमी प्रणाली दिउँसोभन्दा राति बढी सक्रिय हुने सम्भावना रहेकाले आज राति वर्षा थप बढ्न सक्ने र आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेका छन्।

जल तथा मौसम विज्ञान विभागमा प्राप्त पछिल्लो २४ घण्टाको अभिलेखअनुसार देशका विभिन्न स्थानमा मध्यमदेखि भारी र केही ठाउँमा अति भारी वर्षा मापन गरिएको छ। यस अवधिमा सबैभन्दा बढी मकवानपुरगढी र म्याग्दीमा समान १२१ मिलिमिटर अति भारी वर्षा दर्ता भएको छ भने सुनसरीमा ११७ र उदयपुरमा १०६ मिलिमिटर वर्षा भएको छ।

काठमाडौं उपत्यकाको चन्द्रागिरि वर्षामापन केन्द्रमा ९३ दशमलव छ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। यसैगरी पाल्पामा ९८, सिन्धुलीमा ९३, नवलपुरमा ८५, झापा र चितवनमा समान ८४, नवलपरासी पश्चिममा ६९, सिन्धुपाल्चोकमा ६८, ताप्लेजुङमा ६४, सोलुखुम्बुमा ५८, बाँके र कैलालीमा समान ५७ तथा सङ्खुवासभामा ५२ मिलिमिटर भारी वर्षा भएको छ।

अहिले काठमाडौंसहित उदयपुर, लमजुङ, सिन्धुपाल्चोक, चितवन, खोटाङ, बागलुङ र पर्वत लगायतका जिल्लाहरूमा वर्षा निरन्तर जारी छ भने अन्य अधिकांश जिल्लाहरूमा मध्यम खालको वर्षा भइरहेको छ। मौसम पूर्वानुमान अनुसार आज राति पनि कोशी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका एक-दुई स्थानमा समेत भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। रातिको समयमा साना-ठूला नदीमा बहाव बढ्न सक्ने र पहिरोको जोखिम रहने हुँदा नदी तटीय क्षेत्र र कमजोर भिरालो जमिन आसपासका बासिन्दालाई सजग रहन सचेत गराइएको छ।