काठमाडाैँ। नक्कली भुटानी शरणार्थी प्रकरणका कसुरदारहरूलाई सजाय ताेकिएकाे छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले रायमाझीसहितका प्रतिवादीलाई दोषी ठहर गर्दै ४ वर्ष कैद र ४० हजार जरिवाना हुने फैसला गरेको हो ।
रायमाझीलाई राज्यविरुद्धको कसुरसहित तीन वटा अपराधमा दोषी ठहर गरेको हो । यदि कुनै व्यक्तिको कार्यले गर्दा अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठामा गम्भीर धक्का लाग्छ वा मित्रराष्ट्रहरूसँगको सम्बन्ध बिग्रिन्छ भने त्यसलाई राज्यविरुद्धको अपराध मानिन्छ ।
यस्तै अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई ‘ठगी र सङ्गठित अपराध’ मा सहयोगी (मतियार) को रूपमा दोषी ठहर गर्दै २ वर्ष कैद र २० हजार जरिवाना हुने फैसला सुनाएको छ। खाँणलाई भुटानी शरणार्थी प्रकरणमा ‘मतियार’ ठहर गर्दै सजाय सुनाएको हो।
खाणले यस फैसला उपर उच्च अदालत र सर्वोच्च अदालतमा पुनरावेदन गर्ने बाटो अझै खुला छ । यदि माथिल्लो अदालतले उनलाई ‘निर्दोष’ ठहर गरेमा मात्र उनको राजनीतिक जीवन पुनः जीवित हुन सक्छ।
तर, जिल्ला अदालतले पेस गरेका प्रमाण र मन्त्रालयको रेकर्ड किर्ते भएको देखिएमा भने उच्च अदालतले पनि सुरु जिल्ला अदालतको फैसला सदर गर्न सक्छ।
नेपालीलाई नक्कली शरणार्थी बनाउँदा संयुक्त राष्ट्र सङ्घ र तेस्रो मुलुकहरूसँग नेपालको विश्वसनीयता गुमेको र नेपालको अन्तर्राष्ट्रिय छवि धमिलिएको अदालतको ठहर छ ।


