काठमाडौं । नागरिक अगुवा तथा पूर्वमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधनप्रति विभिन्न राजनीतिक दलका नेताहरूले गहिरो दुःख व्यक्त गरेका छन् ।
शनिबार पाण्डेको पार्थिव शरीर अत्येष्टिका लागि पशुपति आर्यघाट पुगेका उनीहरूले लोकतन्त्र, नागरिक अधिकार र सुशासनका लागि पाण्डेले गरेको योगदानको उच्च मूल्यांकन गरे ।
नेपाली कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले डा.पाण्डेको निधनले देशले लोकतान्त्रिक आन्दोलनका एक अग्रणी व्यक्तित्व गुमाएको प्रतिक्रिया दिए ।
उनले शान्ति प्रक्रिया अघि बढाउन, संविधानसभा सफल बनाउन तथा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने अभियानमा डा.पाण्डेले नागरिक समाजको तर्फबाट महत्त्वपूर्ण भूमिका रहेको छ ।
उनले भने, ‘नेपालको लोकतान्त्रिक आन्दोलनका एक अगुवा नेपालमा शान्ति प्रक्रिया अगाडि बढाउने वा सफल पार्ने, लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना गर्ने सन्दर्भमा उहाँको योगदान महत्वपूर्ण छ । विशेषगरी नागरिक समाजको नेतृत्वदायी भूमिका खेल्ने पाण्डेको निधनले सबैलाई अत्यन्तै गहिरो चोट दिएको छ ।’
पूर्व सभामुख अग्निप्रसाद सापकोटाले डा.पाण्डेलाई बहुआयामिक व्यक्तित्वका रुपमा चित्रण गरे । उनले प्रशासन, राजनीति र पछिल्लो समय सामाजिक अभियन्ताका रूपमा समेत डा.पाण्डेले विशिष्ट पहिचान बनाएको बताए । सापकोटाले उनको निधनसँगै मुलुकले लोकतन्त्रका एक सच्चा अभिभावक गुमाएको अनुभूति भएको धारणा समेत व्यक्त गरे ।
उनले भने, ‘डा.देवेन्द्रराज पाण्डे बहुआयामिक व्यक्तित्व हो । उहाँले प्रसानिक होस वा राजनीतिक क्षेत्रमा होस् पछिल्लो समय सामाजिक अभियन्ता रूपमा पनि स्थापित हुनुभयो । उहाँ लोकतान्त्रिक मूल्य मान्यता र आदर्शप्रति असाध्यै निष्ठावान हुनुहुन्थ्यो, इमानदार हुनुहुन्थ्यो । उहाँ लोकतन्त्रको उदाहरणीय व्यक्ति हुनुहुन्थ्यो । सबैले एउटा सच्चा अभिभावक गुमेको अनुभूति गरेको छौँ ।’
यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले पनि डा.पाण्डेलाई नेपालको लोकतान्त्रिक आन्दोलन, नागरिक समाज र नागरिक अधिकार अभियानका अग्रणी व्यक्तित्वका रूपमा स्मरण गरे ।
उनले पञ्चायतकलादेखि नै जनताको अधिकार, लोकतन्त्र र नागरिक स्वतन्त्रताको पक्षमा डा.पाण्डेले खेलेको भूमिका नयाँ पुस्ताका लागि शिक्षा र ठुलो इतिहास र अभ्यास रहेको बताए ।
२०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनका मुख्य अगुवा एवम प्रखर अर्थराजनीतिक चिन्तक पाण्डेको शुक्रबार ७८ वर्षको उमेरमा निधन भएको हो ।
उनको अन्तिम बिदाइअघि विभिन्न राजनीतिक दलका नेता, आफन्त तथा शुभचिन्तकहरूले उनको पार्थिव शरीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गर्न विशालनगरस्थित निवास र पशुपति आर्यघाट पुगेका थिए । डा.पाण्डेको शनिबार दिउसो अन्त्येष्टि गरिएको छ ।


