महेन्द्रनगर। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएर सम्पर्कविहीन भएका महिलाहरू अन्ततः सकुशल सम्पर्कमा आएका छन्। भीमदत्त नगरपालिका-१९ बागफाँटाका महिलाहरू सुरक्षा निकायको व्यापक खोजीपछि परिवारको सम्पर्कमा आएका हुन्।
उनीहरू गत आइतबारदेखि निकुञ्जभित्र सम्पर्क बाहिर रहेका थिए। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको रणसिंहदल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेका अनुसार सबै सुरक्षा संयन्त्र परिचालन गरी निकुञ्जभित्र खोजीकार्य तीव्र पारिएपछि ती महिलाहरू परिवारको सम्पर्कमा आएका हुन्। उनीहरू सबै सुरक्षित रहेको जानकारी प्राप्त भएको सेनाले जनाएको छ।
यसैगरी, आइतबार साँझदेखि निकुञ्जभित्रै हराइरहेका बेल्डाँडी गाउँपालिका-२ का तीन जना महिलालाई भने नेपाली सेनाका सहसेनानी सुमन जिसी नेतृत्वको टोलीले निकुञ्जभित्रबाट उद्धार गरेको छ। सोमबार बिहान उनीहरूलाई सकुशल उद्धार गरी परिवारको जिम्मा लगाइएको छ।
निकुञ्जभित्र च्याउ टिप्न गएका महिलाका तीनवटा फरक-फरक समूह सम्पर्कविहीन भएपछि सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र निकुञ्ज प्रशासनको टोली संयुक्त रूपमा खोजीकार्यमा जुटेको थियो।


