+

हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने

५ श्रावण २०८३, मंगलवार ०९:३०

हेटौँडा। हेटौँडा उपमहानगरपालिकाले ज्ञानमा आधारित समाज निर्माण गर्ने लक्ष्यसहित नगर ई–लाइब्रेरी स्थापना गरी सञ्चालनमा ल्याउने भएको छ। आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा डिजिटल शिक्षाको पहुँच विस्तार गर्न ई–लाइब्रेरी सञ्चालन गर्ने योजना समावेश गरिएको हो।

उपमहानगरपालिकाले शिक्षा क्षेत्रको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै शिक्षक दरबन्दी पुनरावलोकन, दरबन्दी मिलान तथा आवश्यकताअनुसार विद्यालय मर्जिङ वा डाउनसाइजिङको कार्यलाई निरन्तरता दिने जनाएको छ।

नगर प्रमुख मीनाकुमारी लामाका अनुसार शिक्षकको पद रिक्त हुँदा पठनपाठनमा पर्ने असर कम गर्न कार्यान्वयनमा रहेको ‘शिक्षक बैंक’ व्यवस्थालाई निरन्तरता दिइनेछ। साथै, महिला शिक्षक प्रसूति बिदामा बसेका बेला विद्यार्थीको सिकाइमा असर नपरोस् भन्ने उद्देश्यले प्रसूति सट्टा शिक्षक व्यवस्था पनि यथावत् राखिनेछ।

स्वास्थ्यतर्फ पनि उपमहानगरपालिकाले विद्यालयस्तरमै विद्यार्थीको स्वास्थ्य अवस्थाको नियमित निगरानी गर्ने नीति लिएको छ। स्वास्थ्यचौकी, सहरी स्वास्थ्य केन्द्र, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, अस्पताल तथा विद्यालय नर्सको परिचालनमार्फत सबै विद्यार्थीको स्वास्थ्य परीक्षणलाई निरन्तरता दिइने जनाइएको छ।

त्यसैगरी, एडीएचडी (ADHD), अटिजम, बौद्धिक अपाङ्गता तथा डाउन सिन्ड्रोमजस्ता फरक प्रकृतिका आवश्यकता भएका बालबालिकाको सिकाइ सुनिश्चित गर्न आवश्यक संस्थागत व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

संस्थागत विद्यालयले प्रदान गर्ने छात्रवृत्ति वितरण प्रक्रियालाई अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाइने उपमहानगरपालिकाले जनाएको छ। साथै, सीमान्तकृत समुदायका विद्यार्थीलाई अध्ययनमा निरन्तरता दिन शैक्षिक सामग्रीसहित छात्रवृत्तिको व्यवस्था गरिने पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य र समावेशी विकासलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षका कार्यक्रम कार्यान्वयन गर्ने लक्ष्य लिएको जनाएको छ।