काठमाडौं । नेपाल सरकारले १ रुपैयाँको सिक्कामा रहेको नेपालको नक्सा हटाएर मुस्ताङको घार गुम्बा राख्ने निर्णय गरेको भन्दै भारतीय सञ्चारमाध्यमहरुले नेपाल झुकेको समाचार प्रकाशन गरेका छन् । भारतको चर्चित मिडियामध्ये एक आज तकले एक रुपैयाँको सिक्काबाट नक्सा हटाएर नेपाल झुकेसँगै अब लिम्पियाधुरा र लिपुलेक सीमा विवाद पनि सकिएको दाबी गरेको छ ।
आजतकले ‘झुका नेपाल’ शीर्षकमामा लेखेको छ, ‘नेपाल पछि हट्यो, नयाँ एक रुपैयाँको सिक्काबाट विवादित नक्सा हटाइने, लिम्पियाधुरा, कालापानी र लिपुलेक विवाद समाधानतर्फ । भारतलाई नेपालसँगको कूटनीतिक मोर्चामा ठूलो सफलता हात परेको छ । नेपालले आफ्नो राजनीतिक नक्सामा समावेश गरेको विवादित भूमि लिपुलेक, लिम्पियाधुरा र कालपानी नेपाली सिक्कामा हुनेछैन ।’
नेपाल राष्ट्र बैंकले एक रूपैयाँको सिक्कामा नेपालको नक्सा हटाएर मुस्ताङको घार गुम्बा कुद्न प्रस्तावसहित सिक्काको स्वरुप स्वीकृतिको प्रस्ताव मन्त्रिपरिषद्समक्ष गरेको थियो । घार गुम्बा नेपालको सबैभन्दा पुरानो गुम्बा रहेकाले त्यसलाई सिक्कामा राख्ने प्रस्ताव राष्ट्र बैंकको थियो । त्यो गुम्बा अमेरिकी सहयोगमा बनेको हुँदा नयाँ सरकारले बढी महत्त्व दिएको केहीको तर्क छ भने केहीले लिम्पियाधुरा–लिपलेकसहितको नक्सा सिक्काबाट हटाएर आफ्नो भारतले मिचेको आफ्नो जमिन दाबीको मुद्दा कमजोर बनाइएको आरोप लगाएका छन् ।
नेपाल राष्ट्र बैंकको प्रस्तावमा मन्त्रिपरिषद्ले १ र २ रुपैयाँको नयाँ डिजाइनका सिक्का ढलाइ गर्न स्वीकृति दिएपछि यो विषय कूटनीतिक तथा राजनीतिक वृत्तमा चर्चाको केन्द्र बनेको हो। मन्त्रिपरिषद्को निर्णय र नयाँ सिक्काको डिजाइन नेपाल राष्ट्र बैंकले १ र २ रुपैयाँका साना दरका सिक्काहरूको आकार, तौल र धातुको बनोट परिमार्जन गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको थियो।
सोही प्रस्ताव अनुसार मन्त्रिपरिषद् बैठकले नयाँ सिक्का ढलाइका लागि स्वीकृति दिएको हो। नयाँ सिक्काको परिमार्जित विवरण अनुसार १ रुपैयाँको सिक्का: ४ ग्रामबाट घटाएर ३.२ ग्राम बनाइनेछ । २ रुपैयाँको सिक्का ५ ग्रामबाट घटाएर ३.८ ग्राम बनाइनेछ।
नयाँ सिक्कामा मिश्रित धातुको सट्टा स्टिल प्रयोग गरिनेछ। १ रूपैयाँको सिक्काको अगाडिको भागमा नेपालको ‘चुच्चे नक्सा’ को सट्टा मुस्ताङस्थित ७औँ शताब्दीको ऐतिहासिक ‘लो घ्यक्कर (घर) गुम्बा’ राखिनेछ। २ रूपैयाँको सिक्कामा भने जानकी मन्दिर नै राखिनेछ।
राष्ट्र बैंकका अनुसार नयाँ सिक्काको अगाडिको भागमा मुस्ताङको मराङ गाउँमा रहेको प्राचीन लो घ्यक्कर गुम्बाको चित्र अंकित गरिनेछ। गुरु पद्मसम्भवद्वारा स्थापना गरिएको विश्वास गरिने यो गुम्बा नेपालकै सबैभन्दा पुराना गुम्बाहरूमध्ये एक मानिन्छ। सिक्कामा ऐतिहासिक सांस्कृतिक सम्पदा समावेश गर्दा हाल कायम रहेको नेपालको नक्सा स्वतः विस्थापित हुने राष्ट्र बैंकका अधिकारीहरूको भनाइ छ।
भारतीय सञ्चारमाध्यमहरूले सन् २०२० मा तत्कालीन सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर जारी गरेको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा (‘चुच्चे नक्सा’) लाई सिक्काबाट हटाइनुलाई नेपालको रणनीतिक लचकताका रूपमा व्याख्या गरेका छन्। आजतक र अन्य भारतीय पत्रपत्रिकाहरूले भारतसँगको सीमा विवाद र कूटनीतिक सम्बन्ध सुधार्ने प्रयासस्वरूप नेपालले सिक्काबाट नक्सा हटाउने निर्णय गरेको दाबी गरेका छन्।
सीमासम्बन्धी विवाद कायम रहेकै अवस्थामा मुद्राबाट नक्सा हटाउनुलाई उनीहरूले भारतसामु नेपालको नीतिगत परिवर्तनका रूपमा प्रस्तुत गरेका छन्। नेपालभित्र आन्तरिक असन्तोष र बहसयता नेपालभित्र भने सरकारको यस निर्णयलाई लिएर तीव्र विरोध र असन्तोष व्यक्त भइरहेको छ।


