+

नेप्सेको सीईओ नियुक्तिका लागि खुला प्रतिस्पर्धा, १५ दिनभित्र आवेदन दिन आह्वान

१२ श्रावण २०८३, मंगलवार १०:४६

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा खुला प्रतिस्पर्धामार्फत पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ।

मन्त्रालयद्वारा गठित सिफारिस समितिले मंगलबार सार्वजनिक सूचना जारी गर्दै योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो। समितिले इच्छुक तथा आवश्यक योग्यता पुगेका उम्मेदवारलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन पेश गर्न आग्रह गरेको छ।

सूचनाअनुसार आवेदन आगामी साउन २६ गते कार्यालय समयभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार मा दर्ता गराउनुपर्नेछ।

अर्थ मन्त्रालयले नेप्सेको नेतृत्व छनोट प्रक्रिया थप पारदर्शी, प्रतिस्पर्धात्मक र योग्यतामा आधारित बनाउन खुला प्रतिस्पर्धाको माध्यमबाट नयाँ सीईओ नियुक्त गर्न लागेको जनाएको छ। आवेदनसँग उम्मेदवारले आवश्यक शैक्षिक योग्यता, कार्यअनुभव तथा अन्य तोकिएका कागजातहरू समेत पेश गर्नुपर्नेछ।

सिफारिस समितिले प्राप्त आवेदनहरूको अध्ययन, योग्यता मूल्याङ्कन तथा अन्तर्वार्तापछि उपयुक्त उम्मेदवारको नाम सरकारसमक्ष सिफारिस गर्नेछ। त्यसपछि सरकारले अन्तिम निर्णय गर्दै नेप्सेको नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने प्रक्रिया अघि बढ्नेछ।

नेपालको पूँजी बजार सञ्चालन गर्ने प्रमुख संस्था नेप्सेको नेतृत्व चयनलाई लगानीकर्ता तथा वित्तीय क्षेत्रले चासोका साथ हेरिरहेका बेला खुला प्रतिस्पर्धाबाट नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भएको हो।