No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अन्तर्राष्ट्रिय शान्ति सेना दिवस मनाइयो

0

काठमाडौं । नेपाली सेनाले विश्व शान्ति स्थापनार्थ खटिने शान्ति सैनिकले पुर्याएको योगदानको स्मरण गर्दै शुक्रबार ‘अन्तर्राष्ट्रिय शान्ति सेना दिवस–२०२२’ विशेष कार्यक्रमका साथ मनाएको छ ।

काभ्रेपलाञ्चोकको पाँचखालस्थित वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रमा आयोजित समारोहमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालले विश्व शान्ति स्थापनाकार्यमा खटिएदेखि नै प्रदर्शन गरेको उच्च तहको पेशागत दक्षता एवं समर्पणको प्रशंसा गरे ।

उनले तीनवटै सुरक्षा निकायका शान्ति सैनिकले शान्ति स्थापनाकार्यमा पुर्याएको अतुलनीय योगदानका लागि विगत र हालका नेतृत्वसमेतलाई बधाई दिए । प्रधानसेनापति प्रभुराम शर्माले हालका दिनमा शान्ति मिसनमा बढ्दो सुरक्षा जटिलतालाई दृष्टिगत गरी शान्ति सैनिकको पेशागत क्षमता अभिवृद्धि गर्नु आवश्यकता रहेको बताए ।

उनले संयुक्त राष्ट्र सङ्घको लैङ्गिक समानता रणनीतिप्रति नेपाली सेना प्रतिबद्ध रहेको र भविष्यमा शान्ति मिसनमा महिला सहभागितालाई वृद्धि गर्ने बताए । समारोहमा गृहमन्त्री बालकृष्ण खाँणले विश्वशान्ति स्थापनाको सिलसिलामा वीरगती प्राप्त गरेका शान्ति सैनिकको सम्मानमा शान्ति स्मारकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरेका थिए ।

उनले यसवर्ष शान्ति स्थापनाकार्यमा निःस्वार्थ भावनाले बहादुरीपूर्वक कार्य गरी विशेष योगदान पुर्याएका दुई जनालाई प्रशंसापत्र तथा वीरगती प्राप्त पाँच जना नेपाली शान्ति सैनिकलाई मेडल (तक्मा) सहित सम्मानपत्र प्रदान गरेका थिए । समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले संयुक्त राष्ट्रसङ्घको झण्डोत्तोलन गरेका थिए ।

प्रकाशित: १३ जेष्ठ २०७९, शुक्रबार १७:४३

Leave a Reply