काठमाडौँ–तराई-मधेस द्रूतमार्ग: जग्गा अधिग्रहणको प्रतीक्षामा नेपाली सेना

काठमाडौँ । राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ–तराई-मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) सडक आयोजना निर्धारित समयमै सम्पन्न गर्नेगरी निर्माणलाई तीव्र गतिमा गतिमा अघि बढाइएको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन सो आयोजनाको हालसम्म ३५ दशमलव ३८ प्रतिशत भौतिक र ३६ दशमलव ६६ प्रतिशत वित्तीय प्रगति भएको छ ।

निर्धारित समयमै निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको सेनाले जनाएको छ । द्रूतमार्ग २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनालाई १३ वटा प्योकजमा छुट्याएर निर्माण थालिएको थियो ।

ती प्याकेजमध्ये द्रूतमार्गको छ दशमलव पाँच किलोमिटरदेखि ७० दशमलव ९७ किलोमिटरसम्मका विभिन्न १० वटा प्याजेकमा धमाधम काम भइरहेको आयोजनाका प्रमुख सहायक रथी विकास पोखरेलले जानकारी दिए।

प्याकेज नं ११ अन्तर्गत खोकना इलाकाको ० किमीदेखि छ दशमलव पाँच किमीमा द्रूतमार्गको सुरु बिन्दु निर्धारण, सवारी आवागमन व्यवस्थापनसम्बन्धी निर्णय र जग्गा अधिग्रहणसम्बन्धी समस्या समाधान पश्चात खरिद प्रक्रिया सुरु गर्ने गरी तयारी अवस्थामा रहेको नेपाली सेनाले जनाएको छ । आयोजनाको ९५ प्रतिशत प्याकेज कार्यान्वयनको चरणमा प्रवेश गरिसकेका छन् ।

तीन सुरुङ निर्माणाधीन

परिमार्जित विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)अनुसार छ मध्ये तीन वटा सुरुङ निर्माण भइरहेका छन् भने अन्य तीन सुरुङको डिजाइन तथा पूर्वतयारीका कार्य जारी छ । निर्माणाधीन तीन वटा सुरुङमार्गको लम्बाइ छ दशमलव ६६९ किमीमध्ये पाँच दशमलव पाँच सय २८ किलोमिटर सुरुङ खन्ने कार्य सम्पन्न भएका छन् ।

तीन दशमलव ३२२ किमीको निजगढ–काठमाडौँतर्फको महादेवटार सुरुङ¬ हालसम्म दुई दशमलव ०२९ किमी तथा तीन दशमलव ३८६ किमीको काठमाडौँ–निजगढतर्फ दुई दशमलव २८८ किमी सुरुङ खनिसकिएको छ । सो सुरुङ यसैवर्ष सम्पन्न गर्नेगरी राति पनि काम भइरहेको सेनाले जनाएको छ ।

निजगढ–कामाठाडौँतर्फको एक दशमलव ६५३ किमी धेद्र्रे सुरुङ गत जेठ ११ गते ‘ब्रेकथ्रु’ भइसकेको छ भने एक दशमलव ७२८ किमीको काठमाडौँ–निजगढ सुरुङ यही महिनामा ‘ब्रेकथ्रु’ गर्ने तयारी छ । लेनडाँडामा रहेको निजगढ–काठमाडौँतर्फको एक दशमलव ६१२ किमी र काठमाडौँ–निजगढतर्फको एक दशमलव ६३३ किमी सुरुङ यसअघि नै खनिसकिएको छ ।

आयोजनाअन्तर्गत विभिन्न स्थानमा निर्माण हुने ८९ मध्ये ८५ वटा पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनको चरणमा रहेका छन् । बाँकी चार वटा पुल खोकना क्षेत्रमा रहेका छन् । सो क्षेत्रमा जग्गा अधिग्रहणसम्बन्धी समस्याका कारण निर्माणमा जान नसकेको सेनाको भनाइ छ ।

निर्माणाधीन अधिकांश पुलको जमिनमुनी ९फाउण्डेसन० को काम सम्पन्न भई जमिनमाथिका काम भइरहेको छ । द्रूतमार्गमा ८१ मिटर अग्ला पुल निर्माण हुनेछन् । हालसम्म पाँच स्थानका पुल निर्माण भइसकेका छन् ।

जग्गा अधिग्रहणमा ढिलाइ

आयोजनाका लागि आवश्यक जग्गा अधिग्रहणको काममा ढिलाइ हुँदा निर्माण प्रभावित भएको छ । आयोजनाका लागि करिब १७ हजार छ सय ५१ रोपनी जग्गा आवश्यक पर्नेछ । त्यसमध्ये पाँच हजार चार सय ८७ रोपनी व्यक्तिको जग्गा हो ।

हालसम्म चार हजार आठ सय ११ रोपनी जग्गा अधिग्रहण भइसकेको छ भने तीन सय ९४ रोपनी जग्गा अधिग्रहण हुन बाँकी छ । खोकना–बुङ्मती खण्डमा दुई सय छ रोपनी जग्गाको मुआब्जा वितरण भएको छैन ।

आयोजना निर्माणबाट वातावरणीय क्षति हुन नदिन पर्याप्त सजगता अपनाइएको सेनाले जनाएको छ । आयोजना क्षेत्रमा हालसम्म ३१ हजार सात सय ४३ रुख काटिएका छन् । ती रुखको सट्टामा सात लाख पाँच हजार पाँच सय ५२ बिरुवा रोपिएका छन् ।

सुरुङ र पुल मात्र २३ किलोमिटर

प्रस्थान बिन्दु ललितपुरको खोकना र अन्तिम बिन्दु बाराको निजगढ रहेको सो सडकको लम्बाइ ७० दशमवल ९७७ किलोमिटर छ । द्रूत मार्ग पहाडी भूभागमा २५ मिटर र तराई भूभागमा २७ मिटर फराकिलो हुनेछ ।

द्रूतमार्गमा १० दशमवल ३०९ किमी लम्बाइको छ वटा सुरुङ बन्ने छन् । आयोजनाअन्तर्गत देवीचौरमा एक किमी, सिसौटारमा शून्य दशमलव ३९ किमी, चन्द्राम भीरमा दुई दशमलव २५ किमी, महादेवडाँडामा तीन दशमलव ३५५ किमी, धेद्रेमा एक दशमलव ६९१ र लेनडाँडामा एक दशमलव ६२३ किमी लामो सुरुङ निर्माण हुनेछ ।

सो सडकमा विभिन्न स्थानमा १२ दशमलव ८८५ किमी लम्बाइको ८९ वटा पुल निर्माण हुनेछ । बुदुनेमा दुई वटा विश्रामस्थल तथा खोकना, बुदुने र निजगढमा एक/एक वटा इन्टरचेन्ज र टोल प्लाजा निर्माण गरिनेछ ।

मन्त्रिपरिषद्को २०७४ वैशाख २१ गतेको निर्णयानुसार सो आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिइएको हो । सो आयोजनाको २०७४ जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाराको निजगढमा शिलान्यास गरेका थिए ।

सरकारले २०७४ साउन २७ गते सडक विभागबाट सेनालाई आयोजना हस्तान्तरण गरेको थियो । सोही वर्षको मङ्सिरदेखि सेनाको जनशक्ति तथा राष्ट्रियस्तरका निर्माण व्यवसायीमार्फत द्रूतमार्गको ‘ट्रयाक’ निर्माण प्रारम्भ भएको थियो ।

विसं २०७५ चैतमा अन्तर्राष्ट्रिय परामर्शदाता सोसुङ इञ्जिनियरिङ एण्ड कन्सल्टिङले तयार गरेको आयोजनाको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर )२०७६ मा स्वीकृत भएको थियो । विसं २०८० साउन ३० गते आयोजनाको परिमार्जित डिपिआर स्वीकृत भएको थियो ।

बागमती प्रदेशमा १३ मन्त्रालय, १४ मन्त्री

बागमती । बागमती प्रदेशमा नेपाली कांग्रेसका थपचार मन्त्रीले शपथ लिएका छन् । शनिबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले हरि प्रभा खड्गी, सुरजचन्द्र लामिछाने, मिनकृष्ण महर्जन र विमल ठकुरीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

उनीहरूको शपथ पछि मन्त्रालयको कार्यभार समेत तोकिएको छ । बुधवार नियुक्त भएका ३ र बिहीबार नियुक्त भएका ४ जना गरी कांग्रेसका ७ मन्त्रीको जिम्मेवारी तोकिएको हो । लामिछानेले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, महर्जनले युवा तथा खेलकुद मन्त्रालय, खड्गीले सामाजिक विकास मन्त्रालय र ठकुरीले संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

यसअघि नियुक्त भएका कुन्दनराज काफ्लेले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् भने श्यामबहादुर खड्काले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय पाएका छन् । मदुकुमार श्रेष्ठको भने जिम्मेवारी पछि तोकिनेछ । १३ मन्त्रालय भएको बागमतीमा १४ मन्त्री बनाइएको छ ।

वीरगञ्ज भन्सारको कारोबार १२ प्रतिशतले घट्यो

वीरगञ्ज । प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालय मार्फत् हुने आयात र निर्यात दुवैमा गिरावट आएको छ । गत आर्थिक वर्षमा विदेशीमुलुकबाट कम मात्रामा सामान नेपाल भित्रिदा तथा नेपालबाट विदेशी मुलुकमा हुने निर्यातमा पनि कमी आउँदा समग्र यो नाका हुँदै हुने वैदेशिक व्यापार नै खुम्चिन पुगेको हो ।

आर्थिक वर्ष २०८०/८१ मा यो नाका हुँदै ६ खर्ब ९ अर्ब २८ करोड ११ लाख १४ हजार बराबरको वस्तु तथा सामान आयात भएको छ । जबकी आव २०७९/८० को तुलनामा गत आवमा मात्रै आयात १२.८५ प्रतिशतले घटेको छ ।

आव २०७९/८० मा ६ खर्ब ९९ अर्ब १२ करोड ६ लाख ६९ हजार बराबरको वस्तु तथा सामान नेपाल आयात भएको थियो । विश्वका एक सय १२ मुलुकबाट नेपालमा विभिन्न खालका वस्तु तथा सामान आयात हुने गर्छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले गत आवमा समग्र मुलुकभरि आर्थिक शिथिलताको कारणले वैदेशिक व्यापार खुम्चिएको बताए ।

‘‘गत आवमा समग्र मुलुकभरिको अर्थतन्त्र सुस्ताएको कारणले आयात र निर्यात दुवै खुम्चिएको छ,’’ उनले भने,‘‘अघिल्लो आवको तुलनामा गत आवमा आयात घटेपनि भन्सारका अन्य सूचक पनि राम्रो भएकाले केही मात्रामा राजस्व सङ्कलनमा वृद्धि भएको छ ।’’

कार्यालयका अनुसार गत आवमा आयात मात्रै होइन, वीरगञ्ज भन्सार कार्यालय हुदैँ विदेशी मुलुकमा हुने निर्यातमा पनि गिरावट देखिएको छ । गत आवमा ३१ अर्ब ८५ करोड ७१ लाख २७ हजार मूल्य बराबरका नेपाली सामान विदेशी मुलुकमा निर्यात भएको छ ।

जबकी अघिल्लो आव २०७९/८० मा यो नाकाहुँदै ३७ अर्ब २३ करोड १८ लाख ७४ हजार मूल्य बराबरको वस्तु तथा सामान निर्यात भएको थियो । आघिल्लो आवको तुलनामा गत आवमा मात्रै १४ दशमलव ४४ प्रतिशतले निर्यातमा कमी आएको छ । यो नाका हुदैँ करिव ६० मुलुकमा विभिन्न नेपाली उत्पादन निर्यात हुने गर्छ ।

आव २०७९/८० को तुलनामा यो नाका हुँदै हुने वैदेशिक व्यापारमा १२ दशमलव ९३ प्रतिशत गिरावट आएको छ । आव २०८०/८१ म यो नाका हुँदै छ खर्ब ४१ अर्ब १३ करोड ८२ लाख ४१ हजारको वैदेशिक व्यापार भएको थियो ।

जबकी अघिल्लो आव २०७९/८० मा भने यो नाका हुँदै कुल वैदेशिक व्यापार सात खर्ब ३६ अर्ब ३५ करोड २५ लाख ४३ हजार रहेको छ । यो नाकाबाट हुने वैदेशिक व्यापारमध्ये आयातको हिस्सा ९५प्रतिशत र निर्यातको हिस्सा पाँच प्रतिशत रहेको छ ।

कमला ह्यारिसले गरिन् अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी घोषणा

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवारीको आधिकारिक घोषणा गरेकी छन् ।

‘आज, मैले संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पदका लागि आधिकारिक रूपमा मेरो उम्मेदवारी घोषणा गर्ने फारमहरूमा हस्ताक्षर गरेको छु । म हरेक मत कमाउन कडा मेहनत गर्नेछु र नोभेम्बरमा हाम्रो जित हुनेछ’, कमला ह्यारिसले आफ्नो पोष्टमा भनेकी छन् ।

नोभेम्बर ५ मा हुने अमेरिकी राष्ट्रपति चुनावमा उपराष्ट्रपति कमला ह्यारिसलाई डेमोक्र्याटिक पार्टीले आफ्नो उम्मेदवारको रूपमा समर्थन जनाएको छ ।

यसअघि शुक्रबार पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकी राष्ट्रपति पदका लागि कमला ह्यारिसलाई सार्वजनिक रूपमा समर्थन गरेका थिए । ओबामाले आफू र अमेरिकाकी पूर्व प्रथम महिला मिशेल ओबामाले नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा ह्यारिसको जित सुनिश्चित गर्न आफूले सक्दो सहयोग गर्ने बताएका छन् ।

यस हप्ताको सुरुमा ओभल अफिसबाट राष्ट्रलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले कमला ह्यारिसलाई ‘महान उपराष्ट्रपति’ को रुपमा सम्बोधन गरेका थिए । ‘उहाँ अनुभवी हुनुहुन्छ र राष्ट्रपति पदका लागि सक्षम हुनुहुन्छ’, बाइडेनले भनेका थिए ।

यसबाहेक, ह्वाइट हाउसका प्रेस सचिव करिन जिन पियरेले डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति उम्मेदवारका लागि कमला ह्यारिसभन्दा योग्य अरु नभएको बताएका थिए ।

चीनबाट रसुवा नाका हुँदै एकवर्षमा ६५ अर्बको सामान आयात

रसुवा । गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट ६५ अर्ब २२ करोड ६३ लाख बराबरको चिनियाँ सामग्री नेपाल आयात गरिएको छ ।
       
आयात गरिएका सामग्रीमा इन्धन एवं विद्युतीय सवारीसाधन, तयारी कपडा, रवर, जुत्ता, चप्पल, हाते झोला, होजियारी कपडा, जुत्ता तयार गर्ने सामग्री, स्याउ, लसुन ओखरलगायत रहेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले जानकारी दिए ।
         
निर्याततर्फ भने  एक अर्ब ९६ करोड १८ लाख बराबरको तामाका भाँडाकुँडा, गलैँचा, चाउचाउ, नुड्लर्स, पास्ता, जडीबुटी, आल्मोनियमका भाँडाकुँडा, पछ्यौरा, सल, दोसल्ला, बुक व्यान्डिङका कपडा, तयारी कपडासमेत एक अर्ब ९६ करोड १८ लाख बराबरका सामग्री रहेका छन् ।


आयात भएका सामानको परिमाण घटाई विवरण बुझाउने व्यापारीलाई कानुनबमोजिम जरिवाना गर्ने गरिएको उनले बताए । 


गत आवमा कम परिमाण देखाउने व्यापारीबाट  ६१ करोड ६० लाख जरिवाना गरिएको प्रमुख भन्सार अधिकृत पाठकले जानकारी दिए । बस, कार, ट्रक, टाइसाइकल, भ्यानसमेतका सवारीसाधन आयात भएका थिए ।


गत आवमा  सात हजार तीन सय ७७ चिनियाँ सवारीसाधन आयात भएका थिए । सोमध्ये तीन सय ४५ इन्धनबाट चल्ने र सात हजार ३२ वटा भने विद्युतीय सवारीसाधन रहेको अभिलेखकर्ता कम्प्युटर अधिकृत निर्मल कँडेलले बताए। 


गत वर्ष आयात भएका सवारीसाधनको मूल्य  १९ अर्ब ५७ करोड ४५ लाख रहेको भन्सारको तथ्याङ्कमा उल्लेख छ । आव २०७९/८० मा एक हजार सात सय मात्र सवारीसाधन आयात भएका थिए ।आव २०८०/८१ को भन्सार शुल्क, जरिवाना, भ्याटसमेतको  २० अर्ब ३६ करोड ९७ लाख ८२ हजार असुल भई राज्यकोषमा दाखिला भएको भन्सार कार्यालयले जनाएको छ ।

कांग्रेस-एमालेको सरकार अन्तिम विकल्प होः सञ्चारमन्त्री गुरुङ

गण्डकी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताएका छन् । वर्तमान सरकारले एक वर्षभित्रमा परिर्वतनको अनुभूति हुनेगरी काम गर्ने उनले उल्लेख गरे ।

नेपाल पत्रकार महासङ्घ कास्की शाखाले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले भने, “वर्तमान सरकारलाई असफल हुने छुट छैन, प्रधानमन्त्रीले पनि यसमा हामीलाई स्पष्ट दिशानिर्देश गर्नुभएको छ ।”

मन्त्री गुरुङले राजनीतिक स्थायित्वसहित सुशासन र विकासको गतिलाई तीव्रता दिन संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाएको बताए ।

“संसदीय अभ्यासमा प्रमुख दुई ठूला दलको सरकार विरलै बन्ने गर्छ, हामीले पनि यसलाई अन्तिम विकल्पका रुपमा प्रयोग गरेका हौँ”, उनले भने, “यो सरकार पनि असफल भए मूल धारका पुराना राजनीतिक दलप्रतिको जनविश्वास टुट्छ ।”

सरकारले अर्थतन्त्र सुधार, रोजगारी सिर्जना, सुशासन र विकास गतिविधिलाई केन्द्रमा राखेर काम गर्ने मन्त्री गुरुङको भनाइ छ । डिजिटल नेपालको अवधारणाअनुसार विद्युतीय शासन सञ्चालनमा सरकारले जोड दिने उनले बताए । सञ्चारसँग सम्बन्धित ऐन, कानुनलाई समयसापेक्ष ढङ्गले परिमार्जन गरिने मन्त्री गुरुङको भनाइ थियो ।

“अहिले पनि पुराना ऐन, कानुनबाट कतिपय सञ्चार संस्था चलिरहेका छन्, तिनलाई संशोधन र परिमार्जन गर्नुपर्छ, आवश्यक परेका कानुन निर्माणमा सञ्चार मन्त्रालयले विशेष पहल लिन्छ”, उनले भने, “हुलाकलगायत संस्थालाई आधुनिक ढङ्गले सञ्चालन गर्न आवश्यक छ ।”

मन्त्री गुरुङले टेलिकम सेवालाई थप गुणस्तरीय बनाइने बताए । सञ्चारमाध्यमको सवलीकरण र पत्रकारको वृत्तिविकासका लागि कार्ययोजना बनाएर काम गर्ने उनको भनाइ छ ।

शुक्लाफाँटाका दुई बालकमा दादुरा–रुबेला

कञ्चनपुर ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा दादुरा–रुबेलाका बिरामी फेला परेका छन् । आठ वर्षीय र २२ महिनाका बालकमा दादुरा–रुबेला देखिएको हो । अन्य १९ शङ्कास्पद बिरामी फेला परेका छन् । 

शङ्कास्पद बिरामीमा दादुरा–रुबेला भए नभएकाबारे परीक्षण गर्ने काम भइरहेको छ । दादुरा–रुबेला नियन्त्रण तथा व्यवस्थापन गर्न सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले सम्बन्धित स्थानीय तह, जिल्ला प्रशासन कार्यालयलगायत सरोकारवाला निकायसँग आवश्यक समन्वय सहकार्य गरी जनशक्ति परिचालन गरेको छ ।

विश्वस्वास्थ्य सङ्गठन, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय कञ्चनपुरको टोलीले छुट्टाछुट्टै रुपमा दादुरा–रुबेला देखिएको क्षेत्रमा पुगेर अनुसन्धान अध्ययन गरेका छन् ।

बाइस महिनाका बालकले दीपनगर आधारभूत स्वास्थ्य केन्द्रमा नियमित खोपअन्तर्गत दादुरा–रुबेलाको खोप लगाएका हुन् भने आठ वर्ष १० महिनाका बालक पहाडबाट बसाइँसराइ गरेर यहाँ आएका हुन । दादुरा–रुबेला देखिएका क्षेत्रमा खोप कार्यक्रम सञ्चालन गरिने भएको छ ।

दादुरा–रुबेला भएको क्षेत्रमै लगाउने वा पूरै नगरपालिका क्षेत्रमा लगाउने वा नजिकका पालिकामा लगाउने भन्नेबारे छलफल भइरहेको स्वास्थ्य निर्देशनालय दिपायलका महामारी नियन्त्रणसम्बन्धीका सम्पर्क व्यक्ति हेमराज जोशीले बताए । दादुरा–रुबेला रोकथामका लागि खोप अभियान सञ्चालनको तयारी भइरहेको उनले बताए ।

हैजा देखा परेको कैलालीको धनगढी उपमहानगरपालिका–१ त्रिवेणी चोक क्षेत्रबाट खानेपानी र दिसाको नमुना सङ्कलन गरी प्रयोगशालामा जाँचको काम भइरहेको छ । सो क्षेत्रमा गत बिहीबार २३ र २६ वर्षीय दुई युवकमा हैजा देखापरेको हो । 

पेटको स्वास्थ्य कसरी सुधार्न सकिन्छ ?

बीबीसी । पेटको स्वास्थ्य कोलेस्ट्रोलको मात्रादेखि मानसिक स्वास्थ्यसम्मका सबै कुरासँग जोडिन सक्ने अनुसन्धानमा पाइएको छ। स्वास्थ्यमा पेटको भूमिकाबारेमा सचेतना बढ्दै जाँदा मानिसहरूमा यसको ख्याल गर्ने रुचि पनि बढ्दै गएको छ। पोलरिस मार्केट रिसर्चको सन् २०२१ को एक तथ्याङ्कअनुसार ‘प्रोबायटिक्स’ भनिने शरीरलाई फाइदा गर्ने सूक्ष्मजीवहरूको विश्वव्यापी बजार ६० अर्ब अमेरिकी डलर पुगेको छ। सन् २०३० सम्म यो हरेक वर्ष ७ प्रतिशतका दरले बढ्दै जाने ठानिएको छ। पेट किन स्वस्थ हुनु आवश्यक छ र तपाईँ आफ्नो पेटको अवस्थालाई कसरी सुधार्न सक्नुहुन्छ?

स्वस्थ पेट भनेको के हो ?  
पेटको संरचना निकै जटिल भएकाले स्वस्थ पेटको पहिचान गर्नु अन्य अङ्गहरूको जस्तो सहज हुँदैन। पेटको स्वास्थ्यस्थिति मापन गर्न सकिने त्यस्तो कुनै एउटा मात्रै विधि पनि छैन। हाम्रो पेट ‘माइक्रोब’ भनिने सूक्ष्म जीवाणुहरूले भरिएको हुन्छ। पेटमा यति धेरै त्यस्ता जीवाणु हुन्छन् कि तिनीहरूलाई एकसाथ राखेमा तिनीहरूको तौल १.८ किलोग्रामभन्दा धेरै हुन्छ। आन्द्रामा भरिएका सामग्रीमा पनि प्रत्येक एक ग्राममा १ खर्ब ‘ब्याक्टेरिया’ हुन्छन्। अक्स्फर्ड विश्वविद्यालयमा पेट र मस्तिष्कबीचको सम्बन्धबारे अनुसन्धान गरिरहेकी डा. केटरिना जोन्सनका अनुसार एउटा स्वस्थ पेटमा विविध समुदायका सूक्ष्म जीवाणुहरूका हुन्छन्। तर, सूक्ष्म जीवाणुसम्बन्धी विज्ञान तुलनात्मक रूपमा अहिले पनि नयाँ क्षेत्र रहेको उनी बताउँछिन्। यसको अर्थ एउटा स्वस्थ पेट कस्तो हुन्छ भन्नेबारे हामीलाई विस्तृतमा थाहा छैन। ‘हाम्रो पेटमा हजारौँ किसिमका सूक्ष्म जीवाणु छन् र तिनका पनि धेरै प्रकार छन्। तीमध्ये अधिकांशको काम के हो भन्ने हामीलाई थाहा छैन,’ उनी भन्छिन्।

स्वस्थ पेट किन आवश्यक छ?

पेटले शरीरका सम्पूर्ण अङ्गहरूलाई असर पार्न सक्ने डा. जोन्सन बताउँछिन्। मस्तिष्क र पेटबीच बलियो सञ्चार प्रणाली हुन्छ, जसलाई ‘पेट-मस्तिष्क अक्ष’ भनिन्छ। दुवै एकअर्काका लागि महत्त्वपूर्ण छन्। अध्ययनले पेटमा हुने सूक्ष्म जीवाणुहरूको अनुपस्थितिमा मस्तिष्कको विकास असमान्य किसिमको हुन पुग्ने देखाएको छ। पेटलाई कहिलेकाहीँ ‘दोस्रो मस्तिष्क’ पनि भनिन्छ किनभने ब्याक्टेरियाहरूले पेटमा रहेका १० करोड स्‍नायू कोषिकाहरू मार्फत् हाम्रो व्यवहारलाई प्रभावित गर्न सक्छन्। स्नायु कोषिकाहरू हाम्रो मस्तिष्क र केन्द्रीय स्नायु प्रणालीमा पाइने त्यस्ता कोषिका हुन्, जसले हाम्रो शरीरलाई कस्तो व्यवहार गर्ने भनेर बताउँछ। हाम्रो पेटले मस्तिष्कमा पाइने ‘सेरटनिन’जस्ता न्युरोट्रान्स्मिटरहरूको उत्पादन गर्ने भएकाले मनस्थिति नियन्त्रणमा पनि भूमिका खेल्छ। सामान्यतया: पेटको भूमिका खानाबाट पोषक तत्त्वहरू सोस्नु हो भन्ने बुझाइ छ। ‘हामीले दिसामा पानी र खनिज गुमाउन सक्दैनौँ,’ भारतस्थित पेट र आन्द्रासम्बन्धी रोगका विशेषज्ञ चिकित्सक डा. वेङ्कटरमण कृष्ण भन्छन्।

बेलायतमा ‘द गट हेल्थ डक्टर’ अर्थात् पेटसम्बन्धी चिकित्सक भनेर चिनिएकी डा. मेगन रोशी सूक्ष्म जीवाणुहरूको असन्तुलनले मुटु र श्वासप्रश्वाससँग सम्बन्धित रोगहरूदेखि प्रतिरक्षा प्रणालीसम्ममा असर गर्ने बताउँछिन्। उनी यी सूक्ष्म जीवाणुहरू गठिया बाथ (जोर्नी सुन्निएर दुख्ने समस्यासहितको बाथ) जस्ता ७० भन्दा धेरै जटिल स्वास्थ्य अवस्थासँग सम्बन्धित रहेको बताउँछिन्। डा. रोशी पेटमा करिब ७० प्रतिशत प्रतिरक्षा कोषिकाहरू रहेको र तिनीहरूले शरीरको प्रतिरक्षा प्रणालीसँग निरन्तर सञ्चार गरिरहने बताउँछिन्। त्यसैले स्वस्थ पेट भएका मानिसहरूको प्रतिरक्षा प्रणाली पनि बलियो हुने गरेको उनी बताउँछिन्।

पेटको अवस्था कसरी सुधार्न सकिन्छ?
सन् २०१८ को ‘अमेरिकी गट प्रोजेक्ट’ परियोजनाको अनुसन्धानलाई आधार मान्दै विज्ञहरूले विविध किसिमका पेटका जीवाणुहरू पाउनका लागि हरेक साता ३० फरकफरक किसिमका वनस्पतिजन्य खानेकुरा सेवन गर्न सिफारिस गरेका थिए। यसमा फलफूल र तरकारी मात्रै नभएर गेडागुडी, मसला र बदामजस्ता वस्तुहरू पनि पर्छन्।डा. रोशी पकाउने प्रक्रियामा थोरै परिवर्तन गर्न र थप विविधताका निम्ति बजारमा फरकफरक किसिमका फलफूल खोज्न सिफारिस गर्छिन्।’तपाईँले आफ्नो बिहानको खाजामा ओट्सको सट्टा ‘कीन्वा’ राखेर वा त्यसमाथि बेरी र बियाँजस्ता कुराहरू राखेर त्यसको मात्रा बढाउन सक्नुहुन्छ?,’ उनी भन्छिन्। 

‘के तपाईँ साप्ताहिक रूपमा खाने मासुको केही मात्रालाई फाइबरयुक्त दालसँग साट्न सक्नुहुन्छ?’बेलायतको नेशनल हेल्थ सर्भिसका अनुसार फाइबरयुक्त खानाले हामीलाई अघाएको महसुस गराउने मात्रै नभएर पाचनलाई सहज बनाउनुका साथै अपच हुनबाट पनि बचाउँछ। यसले वयस्क मानिसलाई दैनिक ३० ग्राम फाइबर खान पनि सिफारिस गर्छ। मैदाको सट्टा गहुँको रोटी छान्ने र खैरो चामल वा गहुँको पास्ता छान्ने हो भने त्यसले पनि हाम्रो खानामा फाइबरको मात्रा बढाउँछ।

फाइबरका अन्य स्रोतहरूमा पोलेको आलुजस्ता बोक्रासहितको आलुको परिकारका साथै बोडी, दाल र चनाजस्ता गेडागुडी पनि पर्छन्। यिनीहरूलाई उसिनेर, तरकारी र सलादमा राखेर खान सकिन्छ। प्रीबायटिकयुक्त खाना (निश्चित किसिमका फाइबर र कार्बोहाइड्रेट)ले पेटमा हुने राम्रा ब्याक्टेरियाको वृद्धिलाई प्रोत्साहन गर्ने पाइएको छ। यस्ता खानाहरूमा केरा, प्याज, लसुन, बन्दाकोभी, ओट्स, कुरिलो, ब्लूबेरी र अङ्गुरलगायत पर्छन्। पाकिस्तानकी पेट र आन्द्रासम्बन्धी रोग विशेषज्ञ डा. हनिशा खेमानीका अनुसार २० वर्षको उमेरसम्म सन्तुलित र पोषयुक्त खाना खानु दीर्घकालीन स्वास्थ्यका लागि महत्त्वपूर्ण छ।

‘संवेदनशील समयमा खाइने खानाले नै दीर्घरोग विकास हुने जोखिमलाई प्रभावित गर्ने, मानसिक र संज्ञानात्मक स्वास्थ्यमा असर गर्नुका साथै समग्रमा दशकौँपछि सम्मको स्वास्थ्यलाई प्रभाव पार्छ,’ उनी भन्छिन्। व्रत बस्नु वा रातिको खाना र बिहानको खाजाबीचमा कम्तीमा १२ घण्टाको अन्तर राख्नुले पनि पेटमा हुने जीवाणुहरूलाई फाइदा पुर्‍याउने लन्डनस्थित किङ्स कलेजका प्राध्यापक टिम स्पेक्टरले आफ्नो पुस्तक ‘स्पून-फेड: ह्वाई अल्मस्ट एभ्रिथिङ् वी ह्याभ बीन टोल्ड अबाउट फूड इज रङ’ मा लेखेका छन्।

पेटको स्वास्थ्यका लागि कुन खाना बेठिक ?
डा. कृष्ण अतिप्रशोधित खाना, मदिरा र सुर्ती पेटका लागि ठिक नहुने बताउँछन्। अतिप्रशोधित खानामा ‘राम्रा’ ब्याक्टेरियालाई घटाउने वा ‘नराम्रा’ ब्याक्टेरिया बढाउने तत्त्वहरू हुन्छन्। डा. कृष्ण हानिकारक भाइरस र ब्याक्टेरियाबाट बच्न सडकमा बेचिने अस्वस्थकर खाना नखाने र फलफूल तथा तरकारी धोएर खानुपर्ने बताउँछन्।तनावले पनि पेटमा प्रभाव पार्छ र अम्लको निर्माण तथा अल्सर हुने जोखिमलाई बढाउँछ। डा जोन्सनका अनुसार धेरै तनावमा हुने मानिसमा निकै कम प्रकारका मात्र सूक्ष्म जीवाणुहरू हुन्छन्।

के प्रोबायटिक्स र घरेलु परीक्षणले काम गर्छ ?
विज्ञहरू प्रोबायटिक्सको प्रयोग कुनै निश्चित कारणका लागि गर्दा त्यसले काम गर्ने बताउँछन्। ‘निश्चित अवस्थाका लागि निश्चित आवश्यकता र निश्चित समयका निम्ति लिनुपर्ने हुन्छ,’ डा. मेगन रोशी भन्छिन्। ‘तपाईँले बेच्न राखिएको प्रोबायटिक्स सामग्रीले पेटको स्वास्थ्य सुधारका लागि सहयोग गर्छ भन्ने कुनै प्रमाण छैन। त्यसको विपरीत हामीलाई बेचिएका ती सामग्रीहरू हरेक दिन खानुपर्छ भन्ने पनि छैन।’ कतिपय देशमा कम्पनीहरूले प्रयोगशालामा दिसाको परीक्षणका लागि नमुना पठाउँदा पेटको स्वास्थ्यको परीक्षणको पनि प्रस्ताव गर्छन्।

डा. रोशी यस्ता परीक्षणहरूले पेटमा रहेका फरकफरक किसिमका जीवाणुहरूको जानकारी प्रदान गर्नेबाहेक कम्पनीले दाबी गरेजस्तो अन्य कुनै पनि किसिमको फाइदा नदिने बताउँछिन्। ब्रिटिश चिकित्सक तथा टेलिभिजन प्रस्तोता डा. ज्यान्ड पैसा तिरेअनुसारको गुणस्तर यस्ता सेवामा पाउन कठिन रहेकोमा सहमत छन्। ‘उनीहरूले तपाईँलाई साधारण सुझाव दिन्छन् र त्यो कुनै प्रमाणमा आधारित हुँदैन,’ उनी भन्छन्, ‘मचाहिँ पैसा बचत गर्नुहोस् र पेटमा समस्या देखिएमा आफ्ना चिकित्सककहाँ जानुहोस् भन्छु।’

ओनुर एरेम
बीबीसी ।

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ । उक्त क्षेत्रबाट ३२ किलो पाँच सय ग्राम यार्सागुम्बा निकासी भएको छ । 


अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इकाई मनाङका प्रमुख ढकबहादुर भुजेलले असार मसान्तसम्ममा सो परिमाणको यार्सागुम्बा सङ्कलन तथा निकासी भएको जानकारी दिए । उक्त परिमाणको यार्सागुम्बा निकासीबाट  १६ लाख ५७ हजार पाँच सय राजस्व सङ्कलन भएको उनले बताए ।


यार्सा निकासीका लागि प्रतिकिलो  ५१ हजार दस्तुर लिने गरिएको छ । निकासी गरिएको दस्तुर  ५१ हजारमध्येबाट  १० हजार संरक्षण क्षेत्र व्यवस्थापन समिति तथा  १० हजार स्थानीय तहलाई उपलब्ध गराइन्छ । 


मनाङमा यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट सुरु गरिएको थियो । यहाँका धेरै खर्कमा यार्सागुम्बा पाउने भए पनि नासों गाउँपालिका–८ ताचैस्थित नाम्केबाट सङ्कलन गरिन्छ ।


गत वैशाख १० गतेदेखि नाम्के खर्कबाट करिब दुई सय जनाले यार्सागुम्बा सङ्कलनको अनुमति लिएका थिए । अनुमतिपत्रबिना औषधीय जडीबुटी सङ्कलन गर्न पाइँदैन । जसले गर्दा अनुमति लिएपछि मात्रै खर्कतर्फ जान दिइने गरिन्छ ।  


प्रमुख भुजेलका अनुसार मनाङमा नाम्के खर्क यार्सागुम्बा सङ्कलन गर्ने पहिलो गन्तव्य हो । खर्कबाट यार्सागुम्बा सङ्कलन गर्न अनुमति दिने निर्णयबमोजिम सङ्कलकलाई अनुमति दिइएको संरक्षण क्षेत्र व्यवस्थापन समितिका संयोजक एवं नासों–८ का वडाध्यक्ष याद घलेले जानकारी दिए । 


उनले भने, “अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको संयोजकत्वमा संरक्षण क्षेत्र व्यवस्थापन समितिले यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिएपछि मात्रै खर्क जान पाउने प्रावधान छ । सोहीअनुरुप यार्सागुम्बा सङ्कलनका निम्ति नाम्के खर्कमा स्थानीयका साथै बाहिरी जिल्लाबाट आएका व्यक्तिलाई सङ्कलन अनुमति दिइन्छ ।” 


मनाङमा वैशाखदेखि असार मसान्तसम्म यार्सागुम्बा सङ्कलन गरिन्छ । यार्सागुम्बा खोज्ने क्रममा २०६६ सालमा नारस्थित नाम्ग्य खर्कमा गोरखाका सात जनाको स्थानीयले हत्या गरेका थिए ।


त्यसपछि सुरक्षा चुनौतीका कारण मनाङको साविकको ‘नार’ र ‘फु’ गाविमा यार्सागुम्बा सङ्कलन कार्य रोकिएको थियो । नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले यार्सागुम्बा सङ्कलन गर्न अन्य जिल्लाका सङ्कलकलाई अनुमति नदिइएको बताए । 


उनले भने, “सुरक्षाको चुनौतीकै कारण बाह्य जिल्लाबाट आउने यार्सागुम्बा सङ्कलकलाई रोक लगाएका छौँ । विगतका  जस्ता घटना दोहोरिनु हुँदैन भनेर स्थानीयलाई मात्र सङ्कलनको अनुमति दिँदै आएका छौँ ।”


यार्सागुम्बा सङ्कलनका लागि अनुमति लिन प्रतिव्यक्ति  ३५ हजार शुल्क तोकिएको छ । उनले पहिले जस्तै नार र फु मा अन्य जिल्लाबाट आउने सङ्कलकलाई यार्सागुम्बा सङ्कलनमा रोक लगाइएको बताए ।


नार्पाभूमिको नार र फु संरक्षित र निषेधित दुवै क्षेत्र भएकाले सुरक्षाका हिसाबले पनि विगतको जस्तो अवस्था सिर्जना नहोस् भनी निर्णय गरिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङले यार्सागुम्बा सङ्कलनका लागि स्वीकृति दिएपछि मात्रै सङ्कलन गर्न खर्क पस्न पाउँछन् ।


मनाङसँगै लमजुङ, गोरखा र धादिङका स्थानीय यार्सागुम्बा सङ्कलन गर्न मनाङका लेक पुग्छन् । नार घटनापछि एक्याप मनाङले यार्सागुम्बा सङ्कलनलाई व्यवस्थित बनाउँदै लगेको छ । 


जिल्ला समन्वय प्रमुख, पालिकाका अध्यक्ष, सुरक्षा निकायका प्रमुख र संरक्षण समितिका पदाधिकारीसहितको बैठकपछि मात्रै यार्सागुम्बा सङ्लकनका लागि खुलाउने प्रावधान छ ।


संयुक्त बैठकले निर्णय गरेबमोजिम पुर्जी काटेर सङ्कलन अनुमति दिइन्छ । पुर्जी काटिसकेपछि मात्रै स्थानीय तथा बाह्य जिल्लाबाट आउने सङ्कलकलाई खर्क जान अनुमति दिइने संरक्षण व्यवस्थापन समितिले जनाएको छ । 


चार वटा स्थानीय तह रहेको मनाङमा धारापानी र थोँचेबाहेक सबै लेकमा यार्सागुम्बा पाइन्छ । मनाङमा यार्सागुम्बा पाइने क्षेत्रमा सङ्कलन गर्न जाने सङ्कलकले १० यार्सागुम्बा टिपेपछि एउटा सोही स्थानमा छाड्नुपर्ने प्रावधान छ ।


मनाङको नाम्ग्य खर्क, किन्चो लेक, याक खर्क, पिसाङ लेक, फु लेकलगायतका खर्कमा यार्सागुम्बा बढी पाइने स्थान हुन् । यार्सागुम्बा सङ्कलन कार्य नाम्ग्य खर्कबाट सुरु भई नार, फु र माथिल्लो मनाङको खाङ्सार खर्कमा सकिन्छ ।  

अष्ट्रेलियालीहरूले हरेक वर्ष फाल्छन् सात लाख टनभन्दा बढी खाना 

अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको छ ।

    इन्ड फुड वेस्ट अस्ट्रेलिया (इएफडब्लुए) द्वारा प्रकाशित प्रतिवेदनअनुसार अस्ट्रेलियालीहरूले दैनिक दुई करोड ९० लाख डलरबराबरको खाना खेर फाल्छन् ।

दक्षिण अस्ट्रेलियामा रहेको इएफडब्लुएका प्रमुख कार्यकारी स्टिभन लापिजले यहाँ ३७ लाख घरपरिवारलाई टेबलमा खाना राख्न सङ्घर्ष गरिरहेको समयमा प्रत्येक अस्ट्रेलियालीलाई दिउँसोको खाना उपलब्ध गराउन यो बर्बादी पर्याप्त रहेको बताए ।

अस्ट्रेलियालीहरूले प्रत्येक वर्ष बर्बाद गर्ने खानाको संयुक्त मूल्य ३६ अर्ब ६० करोड अस्ट्रेलियाली डलर (२४ अर्ब ३० करोड अमेरिकी डलर) रहेको प्रतिवेदनले अनुमान गरेको छ ।

    नयाँ प्रतिवेदन सन् २०२४ राष्ट्रिय खाद्य अपशिष्ट शिखर सम्मेलनको पूर्वसन्ध्यामा प्रकाशित गरिएको थियो । यसले मेलबर्नमा विश्वभरका विज्ञ र उद्योगका नेताहरूलाई एकसाथ आमन्त्रण गर्दछ । 

    लापिजले एक मिडिया विज्ञप्तिमा दुई दिने कार्यक्रम राष्ट्रिय रणनीति र सन् २०३० लक्ष्यको बीचको बीचमा बिन्दुमा आउने बताए ।

    “यो कठिन समय हो, जीवनको लागतको सङ्कटले कार्यको आवश्यकतालाई तीव्ररूपमा ध्यान दिइरहेको छ । हामी सन् २०३० सम्ममा खाद्यान्नको बर्बादीलाई आधा गर्ने हाम्रो योजनाको आधा बाटोमा छौँ । यो शिखर सम्मेलन महत्त्वपूर्ण छ”, उनले भने ।

   जलवायु परिवर्तन, ऊर्जा, वातावरण र जल विभागले खाद्यान्नको बर्बादी अस्ट्रेलियाको वार्षिक हरितगृह ग्यास उत्सर्जनको तीन प्रतिशत ओगट्ने र खाना उत्पादन गर्न २६ हजार गिगालिटर पानी खेर गएको अनुमान गरेको छ ।