गोकुल निरौला ।
अयोग्य भन्नाले असफल अथवा नालायक योग्य नभएको बुझिन्छ । बुझिएको मात्र होइन हो पनि । नेपालमा अयोग्य दुईपटक ठहरिएका छन् । नेपालमा चलेको दस वर्षे जनयुद्धका लडाकू पनि अयोग्य भनेर निकालिएको इतिहास जिबितै छ । नेपालमा माओवादी सशस्त्र युद्ध (१९९६–२००६) समाप्त भएपछि शान्ति प्रक्रियाको भागस्वरूप माओवादी लडाकूहरूको व्यवस्थापन र पुनःस्थापना गर्न विशेष प्रक्रिया अपनाइएको थियो । यस क्रममा माओवादी लडाकूहरूको योग्यता मूल्यांकन –भेरिफिकेसन) गर्दा केही लडाकूहरूलाई अयोग्य ठहर गरिएको थियो । भेरिफिकेसन प्रक्रियामा १८ वर्षभन्दा कम उमेरका लडाकूहरूलाई बाल लडाकू मानिएको थियो। शान्ति सम्झौताअनुसार बाल लडाकूहरूलाई सशस्त्र समूहमा राख्न नपाइने भएकाले उनीहरू अयोग्य ठहरिएको थियो । केही लडाकूहरू युद्ध समाप्तिपछि माओवादी सेनामा समावेश गरिएका थिए । शान्ति सम्झौताअघि सहभागी नभएका लडाकूहरूलाई योग्य ठहर गरिएन । यति मात्र नभइ शारीरिक रूपमा अयोग्य, गम्भीर स्वास्थ्य समस्या भएका वा सेनामा सेवा दिन अक्षम लडाकूहरूलाई योग्य मानिएको थिएन ।
अर्को अयोग्य म आफैंले आफैंलाई भन्ने गरेको छु । जुन एकवर्ष अगाडि म लगायत धेरै जना मजस्तै मेरा सहकर्मी अग्रजहरुलाई संगठनबाट खबरै नदिइ निकालिएको थियो । जुन संगठनको यही २८ गते निर्वाचन पनि हुँदैछ । कुरा सुरु गरौं नेपाल पत्रकार महासंघको स्थापना गर्दा को को थिए र कसरी स्थापना भएको थियो । नेपाल पत्रकार महासंघको स्थापना २०१२ चैत १६ गते (सन् १९५६ मार्च २९) भएको हो । यसका संस्थापक सभापति पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई हुन् । जुन नेपाली काँग्रेसमा अबद्ध थिए । कृष्णप्रसाद भट्टराइबाट सुरु भएको पत्रकार महासंघ विपुल पोखरेलसम्म आइपुगेको छ । केही दिन पछि अर्थात् यही मंसिर २८ गते पत्रकार महासंघले फेरि अर्को नयाँ अध्यक्ष पाउँदैछ । म केही वर्षदेखि पत्रकार महासंघको निर्वाचनको साक्षी छु ।
२०६२/६३ को जनआन्दोलन हुँदा म भरखरको पत्रकारिता सिक्दै थिएँ । मेरा पत्रकारिताका गुरु हुन् खेम भण्डारी् जुन अहिले पत्रकारितामै सकृय छन । २०६२/६३ को जनआन्दोलन पछि खुलेका रेडियो र पत्रपत्रिकाले म जस्ता धेरै पत्रकार जन्मायो । कोही पत्रकातितामै जिवित छन् भने कोही पलायन भैसकेका छन् । नेपालको बदलिदो आर्थिक अवस्था, राजनीतिक अवस्थाले गर्दा पत्रकारितामा लागेका मेरा सहकर्मीले पेसा छोडेको हुनुपर्छ । नेपालमा पत्रकारिता विकासको लामो इतिहास भए पनि यसले अहिले धेरै चुनौती र सम्भावनाहरू सामना गरिरहेको छ । नेपालमा पत्रकारिताको सुरुवात वि.सं. १९५८ मा गोरखापत्र पत्रिकाबाट भएको मानिन्छ। प्रजातन्त्रको आगमनपछि (२००७ साल) पत्रकारितामा खँलेको वातावरणले यसलाई अझ अगाडि बढाएको हो ।
डिजिटल क्रान्तिपछि अनलाइन पत्रकारिता र सामाजिक सञ्जालले मुख्य भूमिका खेलिरहेका छन् । लोकतान्त्रिक व्यवस्थापछि प्रेस स्वतन्त्रतामा उल्लेख्य सुधार भएको छ। तर पत्रकार स्वतन्त्र छैनन् । टेक्नोलोजीको प्रयोग गरेर अनलाइन मिडिया, रेडियो, र टेलिभिजनको व्यापकता सँगसँगै युट्यूबले अराजकता फैलाएको छ । प्रेस स्वतन्त्रतामाथि सरकारले कहिलेकाहीँ दबाब दिने गरेको छ। मिडिया संस्थाहरूलाई दिगो बनाउन आर्थिक स्रोतको अभाव त छँदैछ । कतिपय मिडियाहरू राजनीतिका पक्षपाती र आर्थिक स्वार्थले प्रभावित देखिन्छन् । प्रेस स्वतन्त्रताको सम्मान गर्दै राज्यले कानुनी सुरक्षा प्रदान गर्नुपर्छ ।
मिडियाको व्यावसायिकता र पारदर्शितामा ध्यान दिनुपर्ने देखिन्छ । पत्रकारिता क्षेत्रमा यति सम्भावना र चुनौति हुँदाहुँदै म लगायत धेरै पत्रकार साथिहरुले पलायन हुनुपर्यो । यो व्याक्तिगत कमजोरी मानिन्छ । मैले काम विशेषले यो देशको विराटनगरदेखि कन्चनपुर आइपुग्दा चुनावी माहोल तातिसकेको छ । पत्रकारहरु गुट र समूहमा विभाजन भएर आफूलाई सामाजिक संजालमा समेत मत मागिरहेका छन् ।
पत्रकार माहासंघले जुन उद्देश्यले हामी जस्ता पत्रकारलाई गैरपत्रकार घोषणा गरेर संगठनबाट निकालो त्यो न्यायोचित देखिएन । प्रदेश समितिमा उम्मेदवारी दिएकादेखि भोटरसम्मको नामावली हेर्दा कतै हामीलाई अन्याय त भएन ? भन्ने प्रश्न उब्जिएको छ । मैले केहीदिन पहिले हामी भन्दा पहिलेदेखि पत्रकारिता गर्ने र हामीले दिदी भनेर सम्बोधन गर्ने मेनुका बस्नेतलाई मेसेज गरेर सोधेको थिएँ । दिदी तपाईं पत्रकार महासंघ कन्चनपुरको अधिवेशनमा नजाने ? भनेर । उहाँले जवाफमा भन्नु भो भाइ हामी गैरपत्रकार हौं जान मिल्दैन । स्वतन्त्र पत्रकारहरु राजनीतिक दाउपेचमा परेर गैरपत्रकार बन्नुको पीडा अलि नमजा लाग्दोरहेछ । पत्रकारितामा शिक्षित र अनुभवी पत्रकारहरूको आवश्यकता छ। पत्रकारिता जगतमा सुदृढीकरणको नाममा महत्त्वपूर्ण योगदान पुर्याएको विपुल पोखरेल अध्यक्ष भएको समितिले आफूलाई सफल भएको ठाने पनि पोखरेललाइ देखाएर संगठनसँग रिस पोखिएको छ । तर, यसले दिगो र निष्पक्ष रूपमा अघि बढ्नका लागि सुधार आवश्यक छ।


