+

“राजा बोले, अब अघि सर्ने पालो जनताको”

१३ फाल्गुन २०८१, मंगलवार ००:०४

२०८१ साल फागुन ७ गते प्रजातन्त्र दिवसका दिन राजा ज्ञानेन्द्र शाहले दिएको शुभकामना सन्देशपछि अब के हुन्छ ? यो आम बहसको विषय हो ।तर पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र जोगाउने हो भने आफूलाई साथ दिन देशबासीलाई आह्वान गरेका छन्। अब राजाले कुन बाटोमाअघि बढ्ने र जनताले कसरी साथ दिने ? यसको पुरा रोडम्याप त खुल्दै जाला । तर, राजा अब चुपचाप नबस्ने कुरा भिडियो मार्फत नै स्वदेशी, विदेशीलाई स्पष्ट पारेका छन ।

हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्ने परम्पराको निरन्तरता मात्रै हैन, यसपालीको राजाको सन्देश । पूर्वराजा शाहले देशको समृद्धि र उन्नतिका लागि आफूलाई साथ दिन पहिलो पट्क खुल्ला आह्वान गरेकाले राजा चाहिन्छ भन्नेहरुले अब खुल्लमखुल्ला मैदानमा उत्रने वातावरण बनेको छ । राजा स्वयंलाई गद्धीमा फर्कन मन छ की छैन, हामी मात्र किन अघि सर्ने भन्ने तर्क गर्ने राजावादीहरुलाई फागुन ७ को वक्तव्यले अब मैदानमा उत्रिन बाटो खुलाईदिएको छ ।

राजा वा राजसंस्था विरोधीहरुलाई मोर्चाबन्दी गर्न, सहकार्य वा कार्यगत एकता गर्ने ढोका पनि खुलेको छ । केपीओलीदेखि शेरबहादुर देउवाहरु त एकै मोर्चामा छन, अब ज्ञानेन्द्रको हाउगुजी देखाएर प्रचण्ड पनि ओली, देउवासंगै गणतन्त्र जोगाउने नाममा मोर्चावद्ध भएमा वा नविन प्रकारको सहकार्यमा उत्रेमा त्यो पनि अनौठो हुने छैन । सडकदेखि सदनसम्म तीन ठूला दल काँग्रेस, एमाले र माओवादीका नेताहरुले राजाको सन्देशको धुवाँधार विरोध गर्न देखाएको एकता र सक्रियता उनीहरु वीचको कार्यगत एकताको द्योतक पनि हो ।

‘देशका निम्ति र राष्ट्रका खातिर हाम्रो समर्पण निष्ठा सधैँ हुनेछ। राष्ट्र रक्षाका निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनुपर्दछ। हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ। अब नेपालको उन्नतिको लागि हामीबाट अरु के–के त्याग गर्नुपर्ने हो हामी तयार छौँ,’ पूर्वराजा शाहले भिडियो सन्देशमा भनेका छन्, ‘अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कामय राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशबासीलाई आह्वान गर्दछौँ।’

उल्लेखित बुँदाहरु मार्फत आफू गद्धीमा किन आउने भन्ने कारणबारे पनि राजाले सबैले बुझ्ने गरी स्पष्ट पारेका छन । उतिबेलाको माओवादी जनयुद्ध र त्यसले देश तथा नागरिकमा पारेको नकारात्मक प्रभाव अन्त्य गर्ने तथा देश विकास होस भन्ने शर्तमा मात्र आफूले २०६५ जेठ १५ मा घोषित गणतन्त्रलाई सघाएको स्पष्टीकरण पनि राजा ज्ञानेन्द्रले दिएका छन । राजाले आफू हारेर, थाकेर वा नसकेर गद्धी त्यागेको होईन है भन्ने कुरा तत्कालिन सात दल, माओवादी र जनता सामु पुनः स्मरण गराएक छन । त्यसैले अब देशको राष्ट्रियताको रक्षा, राष्ट्रिय एकताको अभिवृद्धि र देशको सम्वृद्धिका लागि आफूले स्पेश पाउनुपर्ने राजाको प्रष्ट विचार छ । राष्ट्र जोगाउन र देश विकास गर्न नागरिक तहबाट आफूले अरु योगदान गर्न परे पनि तयार रहेको घोषणा गरेर राजाले सत्तासिन तथा गणतन्त्रवादीहरुलाई आफूले जस्तै त्याग गर्न वा त्यागी बन्न चेतावनी पनि दिएका छन ।

हो, दिनभर राजाको कार्यक्रममा आउने र भोट हाल्ने बेला दलका नेता रोज्ने जनतालाई पनि राजाले कित्ता क्लीयर गर्न आव्हान गरेका छन । ‘अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कामय राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशबासीलाई आह्वान गर्दछौँ।’ भन्ने राजाको आव्हान नागरिकका लागि पनि यक्ष प्रश्न हो । यदि देश नजोगाउने हो भने राजाले साथ नपाउने हो भने, त्यो जनताको स्वेच्छा भयो भन्ने सन्देश पनि राजाले स्पष्ट रुपमा दिएका छन ।

देशमा कुनै संकट नआओस् भनेर उदारता राख्दै आफूले त्याग गरेको उनको भनाइ छ। तर, उक्त त्यागलाई कमजोरीको रुपमा नलिन उनले चेतावनी दिएका छन्। जनआन्दोलन २ को बलमा राजसंस्था हटाएर गणतन्त्र ल्यायौं भन्दै धक्कु लगाउनेहरुका लागि राजाको यो चेतावनी निकै पेचिलो तर पूर्ण यथार्थपरक छ । किन भने जनआन्दोलन २०६३ मा तत्कालिन आन्दोलनकारी शक्तिहरु, उतिबेलाका ७ दल र माओवादीले राजालाई लडाईंमा हराएर हैन, राजासंग वार्ता गरेर आफ्ना माग पुरा गराएका थिए ।

सम्झौतामा नै जनआन्दोलन टुंगिएकाले अब राजाले जनआन्दोलनताका कै आफ्नो हैसियत र अधिकार खोजेका छन । यसका लागि दलहरु अब कि राजाको आव्हानमा सहमत भएर आआफ्ना पार्टीका वैचारिकी परिवर्तन गरी राजसंस्थासहितको प्रजातन्त्रका लागि फर्कन तयार हुनु पर्यो, की राजा विरुद्ध सबै एकजुट हुन पर्यो । राजाको चेतावनी दलहरुका लागि, मुलतः गणतन्त्रवादीहरुका लागि अब खाउँ भने दिनभरको शिकार, नखाउँ भने खैके जातीको अनुहार भनेजस्तै स्थिति हो ।

‘हाम्रो यो नेपाल देशभक्त पूर्खाहरुले फलाएको र फुलाएको सुन्दर राष्ट्र हो। यो राष्ट्रमा कुनै संकट नआओस् भन्ने हाम्रो परिकल्पना हो। त्यसैले राष्ट्रको हितमा हामीले उदारता राख्दै आयौँ। त्यति मात्रै होइन, हामीले जनताको भलो होस् भनेर आफ्नो ओहोदा, सुख सुविधालाई पनि त्याग गरेका हौँ। त्यागले कसैको कद सानो हुने होइन। त्यस्तो भाव कसैले पनि कमजोरी ठान्नु हुँदैन। कतै कुनै पनि पक्ष नगरी सबैलाई समेटेर जाने हाम्रो अभिलाशा हो। हाम्रो त्यागको अर्थ, आशय पनि त्यही नै हो,’ उनको भनाइ छ।

राजाको यो कथनले राजलो वा राजसंस्थाले नयाँ राष्ट्रिय एकताका लागि, जनताको भलोका खातिर,निष्पक्ष रुपमा सबैको साझा संस्थाको स्थापित भएर भूमिका खेल्न चाहेको स्पष्ट पारेको छ । केवल पद र सुखका लागि नभई जनताको हित र राष्ट्रको रक्षाका लागि सबैलाई रिझाउने, सबैखाले शक्तिको लागि सर्वस्वीकार्य संस्थाको रुपमा राजसंस्थाले स्थान पाओस भन्ने उनको सदिच्छा रहेको बुझिन्छ ।

आफ्नो इतिहासलाई नास गरेर उँभो लाग्न सकिँदैन भन्ने कुराको हेक्का राख्नुपर्ने पूर्वराजा शाहले बताएका छन्। उनी भन्छन्, ‘हाम्रो इतिहासलाई नास गरेर, पहिचानको अपमान गरेर हामी उँभो लाग्दैनौँ भन्ने कुराको हेक्का राखेर हामी अघि बढौँ। विगतका कमी कमजोरी तथा आफ्नो प्रकृति र संस्कृतिविरुद्धका त्रुटि सच्चाएर अघि बढ्ने चेतना हामीलाई प्राप्त होस्।’

अहिले देशको इतिहास मेटिँदै गएको र नेपालका होनहार जनशक्ति देशबाट बाहिरिँदै गएकोप्रति पूर्वराजा शाहले चिन्ता व्यक्त गरेका छन्। ‘आज देशको इतिहास मेटिँदै गएको छ। नेपालको अस्तित्व नासिँदै गएको छ। नेपालका होनहार जनशक्ति ताँती लागेर देशबाट बाहिरिँदै गएका छन्,’ उनले भनेका छन्, ‘नेपालीको पसिना आफ्नो माटोमा होइन, अन्तै पोखिइरहेको छ। जन्मदै नेपालीको शीरमा हजारौँ हजार होइन, लाखको ऋणभारको बोझ छ। हाम्रा कलकारखाना, व्यापार, व्यवसाय निरन्तर धराशायी हुँदै छ। हुँदाहुँदा हाम्रा शिक्षालयहरूमा समेत शिक्षक र विद्यार्थीहरु पातलिँदै गएका छन्।’

उनी अगाडि थप्छन्, ‘नेपालको पद्धति, नीति र गतिविधि पनि ठीक छैन, यहाँ बसेर केही हुँदैन भन्नेखालको श्रम, सीप, चेतना र ज्ञान भएका हाम्रा नागरिकहरुमा त्यस प्रकारको भाष्य चलिरहेको छ। यस्ता कुराले प्रजातन्त्रलाई शोभनीय बनाउँदैन। प्रजातन्त्र आशा जगाउने प्रणाली हुनुपर्दछ। जनताको भरोसा बढाउने प्रणाली हुनुपर्दछ। तर तीन दशकयताको हाम्रो स्थिति यस्तो छैन।’ निषेधको दृष्टिकोण राख्ने राजनीतिले प्रजातन्त्रलाई बलियो नबनाउने पूर्वराजा शाहको भनाइ छ।

उनी भन्छन्, ‘सुन्दर शब्द र आकर्षक आदर्शले मात्र प्रजातन्त्र सार्थक हुने होइन। कर्म र व्यवहारमा प्रजातन्त्रलाई उतार्ने सेवा भाव र सही प्रजातान्त्रिक आचरण हुनुपर्दछ, सबैको पहिचान हुनुपर्दछ। सबैको अस्तित्व सुरक्षित हुनुपर्दछ। निषेधको दृष्टिकोण राख्ने राजनीतिले प्रजातन्त्रलाई बलियो बनाउँदैन। पक्ष विपक्षको अहंकार, आ–आफ्नो खालको स्वार्थ तथा राष्ट्रवादले पनि प्रजातन्त्रलाई गतिशील बनाउन सक्दैन।’

व्यवस्था बदलियो भन्नेहरुले अवस्था राम्ररी बदल्न नसक्नु दुःखद् कुरा भएको पूर्वराजा शाहको भनाइ छ। ‘आम जनताको मुहारमा मुस्कान ल्याउने, जनतालाई खुसी र सुखी बनाउने, सबैले खोजेको र हामीले चाहेर रोजेको पनि त्यही प्रजातान्त्रिक व्यवस्था हो। व्यवस्था बदलियो भन्नेहरुले अवस्था राम्ररी बदल्न नसक्नु दुःखद् कुरा हो,’ उनी भन्छन्।

यसप्रकार राजाको सन्देश मोही माग्ने ढुंग्रो लुकाउने दलका नेताहरुको प्रवृत्ति जस्तो छैन । यो सरल, स्पष्ट र तार्किक छ । अब राजाले नागरिकलाई, दलहरुलाई आवश्यक छ भने राजसंस्था फर्काउन अग्रसर हुन मौका छ । जनचाहना र दलीय ईच्छा त्यस्तो नहुने भने राजा नागरिककै भूमिकामा रमाउन पनि मन्जुर रहेको सन्देशले स्पष्ट पारेको छ । के अब राजाले समय आयो भनेर साथ खोजे जस्तै आम जनता राजा वा राजसंस्था फर्काउन आआफ्नो तह र तप्काबाट सघाउन तयार हो त ? तयार हो भने जनता नैअघि सरेर अब राजा वा राजसंस्था फर्काउन अघि सर्नु पर्छ ।https://fb.watch/xYMy0YU4Yb/
क्रमशः