+

नेपालमा हिंसात्मक प्रवृत्ति नियन्त्रणमा अभिभावक र नेतृत्वको भूमिका निर्णायक

२१ आश्विन २०८२, मंगलवार ०१:५८

काठमाडौं। नेपालमा हिंसात्मक प्रवृत्ति नियन्त्रणमा अभिभावक र नेतृत्वको भूमिका निर्णयक हुने बौद्ध दर्शनका प्राध्यापक डा.नरेशमान बज्राचार्य बताउँछन्।

उनका अनुसार नेपाली समाजमा विगतमा ‘तडकभडक’ गर्ने प्रवृत्ति देखिए पनि अहिले हिंसात्मक गतिविधि बढ्दो अवस्थामा रहेको छ।

धार्मिक दृष्टिले हिन्दु वा बौद्ध धर्म मूलतः अहिंसात्मक भए पनि समाजमा हिंसाको प्रवृत्ति बढ्नुको मुख्य कारण आधारभूत आवश्यकताको अभाव र राज्यको बेवास्ता रहेको धारणा उनले व्यक्त गरे। त्यसकारण यस्ता प्रवृतिहरु नियन्त्रणमा राज्यका अभिभावक र नेतृत्वको भूमिका मुख्य हुने उनले बताएका छन्।

प्राडा बज्राचार्यका अनुसार, सरकारले नागरिकलाई रोजगारी, तलब-पारिश्रमिकजस्ता आधारभूत आवश्यकता उपलब्ध गराउन नसक्दा जनतामा असन्तोष बढेको छ। शिक्षा हासिल गरेका युवायुवतीलाई रोजगारी नपाउने, रोजगारी पाएका व्यक्तिलाई पर्याप्त पारिश्रमिक नहुने अवस्था आएको उनको भनाइ छ। यसले भ्रष्टाचार, चोरी, लुटपाटजस्ता समस्या जन्माएको उनको तर्क छ।

‘साँचो समस्याको जरा शिक्षा नभएर रोजगारी, पर्याप्त पारिश्रमिक र अन्य आधारभूत आवश्यकताको अभाव हुन्। शिक्षित धेरै युवा पढेर डिग्री पाउँछन् तर रोजगारी उपलब्ध हुँदैन; वा रोजगार भए पनि पारिश्रमिक पर्याप्त नहुने भएकाले उनीहरू दुविधामा परिरहेका छन,’ उनले भने।

‘यस्ता अवस्थाले भ्रष्टाचार, चोरी, लुटपाट जस्ता अपराधिक प्रवृत्तिलाई जन्म दिने वातावरण तयार पार्दै आएको विश्लेषकको भनाइ छ।’

‘जबसम्म शान्तिपूर्ण आन्दोलन हुन्छ, सरकारले वास्ता गर्दैन। तर जब आन्दोलन विध्वंसात्मक बन्छ, तबमात्र वार्ताको पहल हुन्छ।’ विस २०४६ सालदेखि अहिलेसम्मका आन्दोलनमा देखिएको यो प्रवृत्तिले समाजलाई हिंसात्मक बाटोतर्फ धकेलेको उनको तर्क छ।

डा.बज्राचार्यले हिंसा नियन्त्रणमा अभिभावक र नेतृत्वको भूमिकालाई निर्णायक भनेका छन्। ‘घरमा अभिभावक, समाजमा अगुवा र देशमा नेताले नै सही मार्गदर्शन दिनुपर्छ। उनीहरू नै भ्रष्ट र दुराचारमा संलग्न भए तलसम्म सुधार सम्भव हुँदैन,’ उनले भने।

उनका अनुसार, सामाजिक शान्ति र देशको स्थिरताका लागि शीर्ष नेतृत्व वा राज्यसत्ता नै जिम्मेवार हुनुपर्छ। ‘उहिले भनिन्थ्यो, राजा राम्रो भए देश राम्रो हुन्छ। अहिले पनि त्यही हो-माथिल्लो स्तरमा सुधार भए मात्र तलसम्म शान्ति र सुधार सम्भव हुन्छ,’ उनले जोड दिए।