
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली नेतृत्वमा नरहे नेकपा (एमाले)सँग एकता हुन सक्ने बताएका छन् । बुधबार धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाट कार्यक्रममा प्रचण्डले ओली नेतृत्वमा नरहे एमालेसँग एकताको ढोका खुल्ने बताएका हुन् ।
“केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन । तर, ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ,” उनले भने ।
तिहारलगत्तै समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढ्ने उनको भनाइ छ । उनले माओवादीको लाइन चुनाव रहेको पनि बताए ।
“अबको माओवादीको लाइन भनेको चुनाव हो,” उनले भने ।
प्रचण्डले युवा पुस्ताले माओवादीको विचार र मार्गदर्शनलाई सही ठहर गर्न थालेको पनि जिकिर गरे । “अहिले मेरो जेनजी युवाहरूसँग पनि छलफल भइरहेको छ । युवाहरूले माओवादी सही रहेछ भन्ने बुझ्नुभएको छ,” उनले भने ।