+

जेनजी विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी छ : रवि लामिछाने

६ पुष २०८२, आईतवार ११:२०

काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेन-जी पुस्ताले सुरु गरेको विद्रोह क्रान्तिमा बदल्ने हुने उद्घोष गरेका छन्।

हिरासतबाट रिहा भएपछि आइतबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आयोजित स्वागत सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

हजारौंको सङ्ख्यामा उपस्थित शुभचिन्तक र पार्टी कार्यकर्ताहरू माझ लामिछानेले सरकार र पुराना दलहरूप्रति प्रहार गरे।

उनले भने, ‘विद्रोह त भएको छ। तर त्यो विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी छ। जलेको सिंहदरबार त बनाउला तर सिंहदरबार बनाएर मात्र हुँदैन, सिंहदरबार बदल्न बाँकी छ।’

आफूमाथि राज्य संयन्त्र प्रयोग गरेर चौतर्फी घेराबन्दी गरिएको बताउँदै लामिछानेले भने, ‘जिल्लैपिच्छे मुद्दा लगाउँदा पनि छोडेको छैन, कारागारहरूमा लाँदा पनि छोडेको छैन, मध्यरातमा अट्टहास गर्दा पनि छोडेको छैन। तर मसँग बाँकी रहेको एक मुठी सास र सत्यको साहस मात्रै हो।’

उनले आफू सङ्गीन मोडमा उभिएर अन्यायविरुद्ध लडिरहेको बताउँदै षड्यन्त्रको शृङ्खला बन्द गर्न चेतावनी दिए। लामिछानेले विघटित संसद बिउँझाउने खेल भइरहेकोमा आपत्ति जनाए।

उनले प्रश्न गरे, ‘कुन संसद पुनर्स्थापनाको कुरा गर्नुभएको ? दुई तिहाइको दम्भ राखेर नेपाली जनतालाई बेच्नेहरुलाई जोगाउने संसद फेरि बिउँझाउन खोज्नुभएको ? भ्रष्टाचारका काण्डहरुमा छानबिन गर भन्दा संख्याको बलमा सामसुम पार्ने संसद बिउँझाउन खोज्नुभएको ?’

उनले जनताका मुद्दा बोल्दा बोल्दै माइक काट्ने संसद फर्काउन खोजेको भन्दै आक्रोश पोखे।

अहिलेको परिस्थितिमा कसैले फाइदा लिन खोजे त्यसको प्रतिवाद गर्ने उनले चेतावनी दिए। ‘कमजोर अवस्थामा ठाउँ-ठाउँबाट चलखेल गरेर, आफ्नो रोटी सेक्न खोज्दै विभिन्न मानिसहरु सल्बलाएका छन्,’ उनले भने, ‘कमजोर छ यही हो मौका भनेर र्‍याल नकाढे हुन्छ, गिद्धे नजर नगाडे हुन्छ, पाइँदैन।’

उनले रास्वपा र नयाँ शक्तिहरु एकढिक्का भएर उभिने बताए। अहिलेको निकास निर्वाचन नै भएकोमा उनले जोड दिए।

‘यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन। जेन-जी पुस्ताले विद्रोहपछि गरिएका अपेक्षा पूरा गर्नुको पनि विकल्प छैन। हामीले सरकारलाई भनेका छौं, सुशासन कायम गर्ने र निर्वाचन गराउने सन्दर्भमा रास्वपा साथमा छ,’ उनले भने।