+

कांग्रेस विशेष महाधिवेशनमा सभापति देउवालाई प्रमुख अतिथिको निम्तो

२६ पुष २०८२, शनिबार १२:४१

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटनमा प्रमुख अतिथिका लागि सभापति शेरबहादुर देउवालाई निम्तो गरिएको छ। आयोजक समितिले सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित केन्द्रीय कार्यसमितिलाई निमन्त्रणा पठाएको छ।

विशेष महाधिवेशन व्यवस्थापन समितिले सभापति देउवालाई प्रमुख अतिथिसहित पार्टीका पदाधिकारीलाई महाधिवेशनमा सहभागी हुन भन्दै निमन्त्रणा पठाएको हो।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सभापति देउवालाई महाधिवेशनमा सहभागिताका लागि निमन्त्रणा पठाइसकिएको जानकारी दिँदै सभापति सहभागी भए देउवाकै हातबाट महाधिवेशन उद्घाटन गरिने र उनलाई नै प्रमुख अतिथि बनाइने बताए।

आइतबार दिउँसो १ बजे भृकुटीमण्डपमा कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन गर्ने कार्यतालिका छ। सभापति देउवा सहभागी नहुने अवस्थामा भने अन्य कुनै व्यक्तिलाई प्रमुख अतिथि बनाएर महाधिवेशन अघि बढ्ने शिवाकोटीले जानकारी दिए।

विशेष महाधिवेशनको सभापतित्व भने नेपाली कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँले गर्ने तय भएको छ। विशेष महाधिवेशनमा अन्य दलका नेताहरूलाई भने निमन्त्रण गरिएको छैन।