काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशकसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले आइतबार राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलक राम अधिकारीसहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौं भ्रष्टाचार मुद्दा दायर गरेको हो।
विशेष अदालतमा दायर मुद्दामा अधिकारीले एचके इन्टरप्राइजेजका सञ्चालक श्रीकृष्ण श्रेष्ठ विज्युसँग राजस्व चुहावटसम्बन्धी अनुसन्धानमा सहजीकरण गरिदिने बहानामा ७० लाख रूपैयाँ घुस लिएको पुष्टि भएको अभियोगपत्रमा उल्लेख छ।
अधिकारीले उक्त ७० लाख सिधै नलिई विभिन्न व्यक्तिको नाममा खातामा जम्मा गरेको पाइएको अख्तियारको भनाइ छ। ५० लाख विकास कुमार चापागाईंमार्फत रवीन्द्र लामिछानेको खातामा पुर्याइ भक्तपुरको मध्यपुर थिमीमा जग्गा खरिद गरिएको र २० लाख देवेन्द्र केसीको बैंक खातामा दाखिला गरी पोखरास्थित द कुटी रिसोर्टको बैंक ऋण र ओभरड्राफ्ट तिर्न प्रयोग गरिएको अभियोग पत्रमा उल्लेख छ।
अख्तियारले पूर्वमहानिर्देशक अधिकारीलाई मुख्य अभियुक्त साथै केसी र लामिछानेलाई मतियारको रूपमा प्रतिवादी बनाएको छ।


