काठमाडौँ । सरकारले आज सार्वजनिक गरेका विभिन्न निर्णयप्रति जेनजी फ्रन्टकी संयोजक रक्षा बमले कडा विरोध जनाएकी छन् । विशेषगरी प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोनित गर्ने निर्णयप्रति उनले असन्तुष्टि व्यक्त गरेकी हुन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै संयोजक बमले उक्त निर्णयले सुशासनको माग गर्दै सडकमा गरिएको आन्दोलनको भावनाविपरीत गएको टिप्पणी गरेकी छन् । उनले सरकारका उच्च पदाधिकारीहरूले आफ्ना निकट व्यक्तिहरूलाई पद बाँड्ने प्रवृत्तिले जनतामा निराशा बढाउने बताइन् ।
बमले लेखेकी छन्, ‘सडकमा सुशासनका लागि, नातावाद र कृपावादको विरुद्ध नारा लगाउँदै मेरा जेनजी साथीहरूले छाती र टाउकोमा गोली खाए । मसँगै हजारौँ साथीहरूले आफ्नो ज्यानको प्रवाह नगरी छातीमा गोली थाप्न सडकमा उत्रिए । केका लागि थाहा छ ? यो देशले बिस्तारै भए पनि सुशासनको सास फेर्न पाओस् भन्ने सपनाका लागि ।’
उनले प्रधानमन्त्री र मन्त्रीहरूले आफ्ना नजिकका व्यक्तिलाई परिषद्, विभाग वा समितिका पदहरू ‘बिदाइ उपहार’ जस्तै गरी बाँडफाँड गर्न नहुने पनि उल्लेख गरेकी छन् ।
बमले आफ्नो वक्तव्यमा चेतावनीपूर्ण शैलीमा भनिन्, ‘होस गर्नुहोस् है, त्यो कुर्सीमा रातो लागेको छ । सडकले रगत भुलेको छैन, र रगतले रंगिएको कुर्सीले तपाईंलाई कुनै उचाइ दिने छैन ।’
सन्देशको अन्त्यमा उनले आफूलाई ‘जेनजी आन्दोलनको एक सम्भावित मृतकको तर्फबाट’ भन्दै हस्ताक्षरसमेत गरेकी छन् ।


