खासमा नागरिकता एउटा परिचय पत्र मात्रै हैन, यो मानिसको पहिचान, मौलिकता र विशिष्ठ अधिकार हो । मानिसलाई नागरिकताको जन्मसिद्ध अधिकारबाट कुनै हालतमा बञ्चित गर्न मिल्दैन, भने त्यसलाई खोस्न, रोक्न त झन मिल्दै मिल्दैन । कर्मको सिलसिलामा विदेशिएका नेपालीहरुलाई स्वदेश फर्केर देशको सेव ागर्ने अवसरबाट रोक्ने कुरा त सोच्न पनि हुदैन । अहिले नागरिकताको निरन्तरताको अभियान चलाईरहेका स्वदेश फर्किन आतुर प्रवासी नेपालीहरुको नागरिकता खोई अभियान धेरै कारणहरुले जायज र अपरीहार्य छ ।
नागरिकताको निरन्तरताका आधार र कारणहरुः
१.उनीहरु जन्मजात नेपाली हुन । जुन माटोमा उनीहरु जन्मे, हुर्के र बढे, त्यो माटो उनीहरुको हो । त्यो माटोको मायामा उनीहरुले श्रम, सीप, प्रविधि, धन सम्पत्ति समर्पित गर्न पाउँछन नै, पाउनै पर्छ । उनीहरु अर्थात प्रवासी नेपालीको पहिलो घर फर्किने जन्मसिद्ध अधिकार हो ।
२. प्राकृतिक न्यायको सिद्धान्त अनुसार पनि उनीहरुलाई जन्मथलोको सेवा गर्ने नैसर्गिक मौलिक मानवाधिकारबाट बञ्चित गर्न पाईदैन, मिल्दैन । उनीहरुले नै फर्किन पाउँ भन्नु त स्वदेशको सम्वृद्धिका लागि ढुंगो खोज्दा देउता मिल्नु सरह हो ।
३. संसार अहिले ग्लोबल भिजेलका रुपमा विकसित भैसक्यो । कुन मानिस कहाँ बस्छ र के गर्छ भन्ने महत्वपूर्ण कुरा हैन, को मानिस कहाँको हो भन्ने तथ्य नै उसको पहिचानको आधार हो । जन्मजात पहिचान उसको प्राकृतिक परिचय हो । त्यसलाई खोस्न वा हडप्न मिल्दैन, पाईदैन । त्यसैले त उनीहरु एक पट्कका नेपाली सधैका नेपाली नै हुन ।
४. कर्मको शिलसिलामा संसारका जो कोही नागरिक जहाँ कही जान आउन सक्छन, तर उनीहरु निश्चित समयका लागि बाहिरिएकै आधारमा उनीहरुलाई जन्मथलोको सेवा गर्ने मौलिक अधिकारबाट बञ्चित गर्न अनागरिक बनाउन वा टुरिष्ट बनाउन पाईदैन । एक पटकको उनीहरुको नागरिकताको निरन्तरता निशर्त हुनुपर्छ ।
५. चराहरु संसार शयर गर्छन, तर बास बस्न आफ्नै गुँडमा फर्किन्छन । ती चराहरुको त देश हुन्छ, फलानो देशका चरा भनिन्छ भने उनीहरु त नागरिक हुन । आफ्नो देशका नागरिकलाई चरनका लागि, कर्मका लागि, रोजगारीका लागि, व्यवसायका लागि केही समय बाहिर गए भन्दैमा उनीहरु हाम्रा होईन्न, हामी उनीहरुका होईनौं भन्न सकिन्न । भन्नु हुदैन पनि भन्न मिल्दैन पनि ।
६.बदलिएको विश्व परिवेशमा सामाजिक संरचनाहरु, मूल्य, मान्यता र परम्पराहरु रातारात अदलबदल भएका छन । सामाजिक, पारिवारिक व्यवस्थाहरुमा ठूला बदलावहरु आईरहेका छन । यस्तो परिवर्तित सामाजिक तथा पारिवारिक व्यवस्थाहरुका वीच जनसाँख्यिक हिसाबले पनि उनीहरुको जीन नै नेपाली हो भने उनीहरुलाई स्वदेशमै फर्केर आफ्नो वंश, परम्परा र उत्तराधिकारित्व निरन्तरताको हक दिनुपर्छ । घट्दो जनसंख्या, बढ्दो बसाईंसराई र अन्य मुलुकका नागरिकको बढ्दो नेपाल प्रवेशलाई रोक्न, कम गर्न वा तगारो हाल्न पनि उनीहरुलाई स्वदेश फर्केर आफ्नो बीउ, पहिचान र बंश निरन्तरताको प्राकृतिक अधिकार दिनैपर्छ । त्यसको सुनिश्चितता राज्यले गर्नैपर्छ ।
७. फेरि, उनीहरु रित्तो हात गएर सीपैसीपैले भरिएका सृजनशील हातहरु लिएर फर्कने हुन । उनीहरु दिमागभरी अनेकन अन्वेषण र सफलताका गाथाहरु लिएर फर्किने हुन । उनीहरु झोलाभरी रकम लिएर फर्किने हुन । विश्वभर रहँदाको सीप, कौशल, अनुभव लिएर फर्किने हुन । अहिलेको उत्तर आधुनिक समाजमा देशको श्रीसम्पत्ति भन्नु नै नागरिकको दक्षता, सीप, पैसा र अनुभव हो । त्यो अतुलनीय सम्पत्ति जब राष्ट्रको विकासका लागि फर्किदैछ भने त्यसलाई रोक्नुपर्ने कुनै मनासिव कारण छैन । त्यो अतुलनीय धनसम्पत्ति राष्ट्रको ढुकुटीमा एकाकार गर्नेगरी पो राज्यले नीति, नियम र कानुनहरु बनाउने र लागू गर्ने हिम्मत गर्नुपर्ने हो । किन की ती सबै आफ्नै सन्तान हुन ।
८. देश भनेको केवल निश्चित क्षेत्रफलको भूगोल मात्र हैन, देश त जीवन हो, संस्कृति हो, परम्परा र वंश पनि हो । आफ्नो जीवन सुखद बनाउन राजदूतका रुपमा, श्रमदूतका रुपमा, सेवकका रुपमा बाहिरिएका आधारमा उनीहरुलाई पुनः स्वदेश फर्कन रोक्नु भनेको आफ्नै देशमाथिको अपमान हो, धोका हो । वंश परम्परा, संस्कृति र परम्पराप्रतिको गद्धारी हो । कुनै पनि सभ्य नागरिक समाजले यस्तो गर्नु हुदैन । गर्न सक्दैन । र, त नागरिकता निरन्तरता हुनुपर्छ ।
९. उनीहरुले ल्याउने पैसाले देश विकासमा कायापलट ल्याँउछ । उनीहरुले ल्याउने रकमले स्वदेशमै रोजगारीका लाखौं अवसरहरु जुराउँछ, जन्माउँछ । पर्याप्त मात्रमा स्वदेशमै रोजगारी नै अहिलेको जब देशको मुख्य समास्या हो भने, त्यसको समाधानको अचुक अस्त्र नै उनीहरुलाई स्वदेश फर्केर लगानीको वातावरण बनाईदिने नै हो । राज्यले मौका दिए, देश र्फेकर माटो र बन्धुजनको हितका खातिर दत्तचित्त भएर लाग्न आँतुर ती लाखौं जनमनहरुलाई यहाँ त राज्यले रातो कार्पेट बिछ्याएर स्वागत, सत्कार पो गर्नुपर्छ । त्यसका लागि नागरिकता निरन्तर हुनुपर्छ ।
१०. कुनै पनि सभ्य राज्यले कथित सिद्धान्त वा हठका लागि जीवन, कानुन र नियम हैन, देश विकास र बृहत्तर नागरिक हितका लागि नियम कानुन बनाउने हो । अबको युगमा आफ्ना विदेशिएका नेपाली जनलाई स्वदेश फर्काउने गरी ऐन, नियम, कानुनहरु समयसापेक्ष परिमार्जन गर्नुपर्छ ।
११. स्वदेश नै स्वर्ग हो । स्वदेश नै फर्कन पाउँ भनेर विदेशिएका नेपालीहरुले अनुनय विनय,हार गुहार गर्दा पनि उनीहरुको अन्तरमनको आग्रहलाई अनदेखा गर्नु, नुसने झैं गर्नु वा सम्वोधन नगर्नु त विकासको तृष्णामा रहेको देशलाई स्रोत र सम्भावनाको मुहानबाटै टाढा राख्नु हो । त्यसो गर्नु हुदैन । यो विवेकी राज्यकोकर्तव्य र धर्म हैन ।
१२. स्वदेश फर्केर देशको नियम, कानुन मानेर, आफ्नो खल्तीको रकम, दिल दिमागको चेतना, सीप, अनुभव नेपाली माटोको श्रृवृद्धि र लोकको हितमा लगाउँछु भन्ने ती तमाम जनमनहरु त् कलीयुगका जीवन्त साक्षात भगवान हुन, तिनलाई राज्यले स्वदेश फिर्तीको मुल ढोका बन्द गरेर आफ्नै खुट्टामा बन्चरो हान्नु हुदैन । हुदै हुदैन ।
यी र यस्तै, यस्तै कारण र आधारमा हामी सबैले एक स्वरले भन्नुपर्छ उनीहरु अर्थात विदेशिएका लाखौं नेपालीलाई उनीहरुको नागरिकता निरन्तरताको माग पुरा गरिदेउ सरकार । एक पट्कको नेपाली सधैको नेपाली भन्ने कुरा ईतिहास, परम्परा, विज्ञान, मानव सभ्यता र देशको आवश्यक्ता सबै कारणले जायज, सर्वथा जायज छ । उनीहरुले मागेको नागरिकता हो । नेपाली पहिचानको निरन्तरता हो । नेपाली माटोको पवित्र सेवा गर्ने अवसर हो । नेपाली जनको हितका खातिर लाग्न पाउने हक हो । उनीहरुलाई राज्यले लगानी गरिदिनुपर्ने हैन, उनीहरुको लगानीका लागि बाटो खोलिदिने मात्रै हो । आखिर यो शुभकाममा ढिलाई किन गर्नु त ? राज्यले भोलि हैन, आज, आज हैन अहिल्यै विदेशएिका नेपालीलाई स्वदेश फर्कने सबै खाले तारतम्य मिलाउनै पर्छ । त्यसका लागि जो जहाँ छौं, सबैले खबरदारी गरिहनुपर्छ, हरपल, निरन्तर ।


