+

सडक र सहरी सुरक्षाबारे डङ्गोल र प्रहरी प्रमुख कार्कीबिच छलफल

३ बैशाख २०८३, बिहीबार ०६:०७

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीका बिच भेटवार्ता भएको छ ।

भेटघाटका क्रममा सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा अहिलेको अवस्था र आवश्यकतामा छलफल गर्दै आपसी सम्बन्धलाई थप बलियो बनाएर नागरिकलाई सेवा प्रत्याभूति गराइने विषयमा छलफल गरिएको छ ।

‘सडक सुरक्षा र ट्राफिक व्यवस्थापन, अतिक्रमित सार्वजनिक जग्गा संरक्षण र सार्वजनिक उपयोग प्रवर्धन, अव्यवस्थित बसोबास व्यवस्थापन, सहरी व्यवस्थापन, सहरलाई सडक मानवमुक्त बनाउने अभियान लगायतका काममा हामी नेपाल प्रहरीसँग सहकार्य गर्न चाहन्छौँ’ उनले थप्दै भनिन्, ‘महानगर प्रहरी बललाई नेपाल प्रहरीको साथले बलियो बनाउनेछ । यसले नागरिकहरूले महसुस गर्ने परिवर्तन प्राप्त गर्नुहुनेछ,’ कार्यवाहक प्रमुख डङ्गोलले भनिन् ।

त्यसक्रममा महानिरीक्षक कार्कीले महानगरपालिकालाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउन आफू तयार रहेको बताए ।

छलफलका क्रममा लागू औषधको दुर्व्यसन नियन्त्रण, सार्वजनिक स्थलमा धुमपान र मद्यपान नियन्त्रण, पार्किङ व्यवस्थापन, सडक सङ्केत र ट्राफिक व्यवस्थापन, रात्रिबस र बिहानी बस सेवाको सुरक्षा, सडक मानव मुक्त काठमाडौँ कार्यक्रमअन्तर्गत सञ्चालन हुने सडक सेवामा नेपाल प्रहरीको सहभागितालगायत विषयमा छलफल भएको थियो ।