+

आन्तरिक राजस्व कार्यालय जुम्ला द्वारा नौ महिनामा २५ करोडभन्दा बढी राजस्व संकलन

५ बैशाख २०८३, शनिबार १०:१९

मुगु। आन्तरिक राजस्व कार्यालय जुम्लाले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा जुम्ला, कालिकोट र मुगु गरी तीन जिल्लाबाट २५ करोडभन्दा बढी राजस्व संकलन गरेको जनाएको छ।

कार्यालयका प्रमुख कर अधिकृत प्रभात घिमिरेका अनुसार साउनदेखि चैतसम्मको अवधिमा २९ करोड ३० लाख ७३ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा २५ करोड २८ लाख ८ हजार रुपैयाँ अर्थात् ८४ दशमलव ४० प्रतिशत राजस्व संकलन भएको छ।

आयकरतर्फ २१ करोड ७३ लाख ९९ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएकोमा १८ करोड १८ लाख ५७ हजार रुपैयाँ अर्थात् ८३ दशमलव ६५ प्रतिशत राजस्व संकलन भएको छ। त्यस्तै, भ्याटतर्फ ५ करोड ४० लाख २७ हजार लक्ष्य राखिएकोमा ५ करोड ३२ लाख ३९ हजार रुपैयाँ अर्थात् ९८ दशमलव ५४ प्रतिशत संकलन भएको छ।

यसैगरी अन्तःशुल्कतर्फ १ करोड ३७ लाख ३ हजार लक्ष्यमध्ये ७७ लाख ८७ हजार रुपैयाँ अर्थात् ७५ दशमलव ०७ प्रतिशत राजस्व संकलन भएको छ भने बहालकरतर्फ ८० लाख ११ हजार लक्ष्यमा ५२ लाख ८९ हजार रुपैयाँ अर्थात् ६६ दशमलव ४० प्रतिशत संकलन भएको कार्यालयले जनाएको छ।

राजस्व संकलन वृद्धि गर्न कार्यालयले करदातालाई सक्रिय बनाउन विभिन्न अभियान सञ्चालन गरेको छ। कर दाखिला नगर्ने करदाताको घरमै पुग्ने, टेलिफोन तथा एसएमएसमार्फत ताकेता गर्ने, कर छुटसम्बन्धी जानकारी दिने जस्ता गतिविधि सञ्चालन गरिएको प्रमुख कर अधिकृत घिमिरेले बताए। उनका अनुसार लक्ष्य हासिल गर्न बजार अनुगमनलाई निरन्तरता दिइने तथा करदातामुखी कर शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ। बक्यौता कर असुली, नक्कली बिल बिजक नियन्त्रण, कर परीक्षण तथा अनुसन्धानको दायरा विस्तार गर्नेतर्फ पनि कार्यालयले ध्यान केन्द्रित गरेको छ।

कार्यालयका अनुसार आयकरतर्फ १६ हजार ९२२ जना, भ्याटमा १ हजार ७१७ जना र अन्तःशुल्कमा ५८२ जना करदाता दर्ता भएका छन्। व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) स्थानीय तहबाटै जारी गर्ने व्यवस्था भए पनि कार्यान्वयनमा भने ढिलाइ भइरहेको कार्यालयले जनाएको छ।