काठमाडौँ । भदौमा भएको जेनजी आन्दोलका क्रममा ज्यान गुमाएकामध्ये ७ जनाको शव पहिचान गर्न नसक्दा परिवारलाई जिम्मा लगाउन सकेको छैन । चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा भेटिएका ती शवबाट डीएनए जाँचका लागि नमुनासमेत संकलन गर्न नसकिएको प्रहरीले जाएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी रमेश थापाका अनुसार जेन–जी आन्दोलन आसपासका समयमा हराएका व्यक्तिको रिपोर्टका आधारमा उनीहरूको परिवार पत्ता लगाउने प्रयास भइरहेको छ । तर, डीएनएसमेत निकाल्न कठिनाइ भएपछि समस्या भएको उनले बताए ।
प्रहरीले घटना भएको केही दिनपछि शवहरू संकलन गरेर त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागमा बुझाएको थियो । तर, चिकित्सकहरूले शवको पोस्टमार्टम जाँच गर्न सकिने अवस्था नै नरहेको जवाफ दिएपछि समस्या भएको हो ।
त्यो अवधिमा आफन्त हराएको भन्दै आएका उजुरीहरूलाई आधार बनाएर अनुसन्धान गरेपनि शव लगभग पूर्णतः खरानी भइसकेको कारण डीएनए जाँचमार्फत प्रक्रिया अघि बढाउन सकिने राय चिकित्सकले दिएका थियो ।
काठमाडौं प्रहरीका एसपी पवन भट्टराईका अनुसार शवलाई जिम्मा लगाउने प्रक्रियाका लागि अन्तिम विकल्प डीएनए जाँच मात्र हो । त्यसका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा नमुना पठाइएको थियो ।
नेपालमा डीएनए जाँचका लागि प्रहरीको विधि विज्ञान प्रयोगशालासँगै खुमलटारमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला छ । जलिसकेको शवबाट डीएनएको नमुना संकलनका लागि हड्डी वा दाँतमध्ये एउटा चाहिन्छ । तर, त्यो शवहरुमा केहि नभएपछि पहिचान गर्न कठिनाइ भएको हो । यसको विकल्पबारे छलफल भइरहेको प्रहरीले जनाएकाे छ ।


