+

युक्रेन युद्धमा रोबोटकाे प्रयोग

७ बैशाख २०८३, सोमबार ०८:१६

मस्को । युक्रेन र रुसबिच जारी युद्धमा नयाँ प्रविधिको प्रयोग तीव्र बन्दै गएको छ । मानव सैनिकको सट्टा रोबोट र ड्रोनहरू प्रयोग हुन थालेका छन् । विशेषज्ञहरूले यसलाई भविष्यको युद्धको सङ्केत भनिरहेका छन् ।

हालैको एउटा घटनामा दुई जना रुसी सैनिकहरूले आत्मसमर्पण गरे । तर यी सैनिक मान्छे थिएनन्, रोबोट र ड्रोन थिए । यसलाई कयौँ माइल टाढाबाट अपरेटरहरूले नियन्त्रण गरिरहेका थिए ।

युक्रेनी कमान्डर माइकोला जिन्केभिचका अनुसार यो अपरेसन बिना कुनै गोलीबारी सम्पन्न भएको थियो । दुस्मनको पक्षबाट आक्रमण गर्ने रोबोट र ड्रोनलाई बन्दी बनाइएको थियो ।

यी प्रविधिहरू विशेष रूपमा थर्ड सेपरेट एसल्ट ब्रिगेडअन्तर्गत प्रयोग भइरहेका छन् । सुरुमा यी रोबोटहरू घाइते सैनिक उद्धार र आपूर्ति पुर्‍याउन प्रयोग गरिन्थ्यो, तर अहिले आक्रमणका लागि समेत प्रयोग भइरहेको छ ।

भू–ड्रोनहरू आकाशमा उड्ने ड्रोनभन्दा फरक हुन्छन् । भूमिमा प्रयोग हुने अन्य सैन्य सवारी साधनको तुलनामा तिनीहरूलाई सजिलै पत्ता लगाउन गाह्रो हुन्छ । यिनीहरू सबै मौसममा काम गर्न सक्छन् र बढी भार बोक्न सक्षम हुन्छन् । साथै, तिनीहरू टिकाउ हुन्छन् र ब्याट्रीको क्षमता पनि लामो हुन्छ ।

गत वर्ष एक रोबोटले करिब ४५ दिनसम्म रुसी आक्रमण रोक्न सफल भएको बताइएको थियो । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीका अनुसार पछिल्लो तीन महिनामा मात्र २२ हजारभन्दा बढी मिसनहरू रोबोट र ड्रोनमार्फत सम्पन्न भएका छन् । २२ हजारभन्दा बढी अवस्थामा रोबोटहरूले सैनिकको सट्टा जोखिमपूर्ण क्षेत्रमा गएर जीवन बचाएको उनको भनाइ छ ।

चार वर्षदेखि जारी युद्धका कारण युद्धभूमिमा ड्रोन र रोबोटिक प्रणालीको प्रयोगमा युक्रेन निकै अगाडि पुगेको छ । युक्रेनले यस वर्ष आफ्नो पैदल सैनिकको करिब एक तिहाइ हिस्सा रोबोट र ड्रोनले प्रतिस्थापन गर्ने लक्ष्य राखेको छ ।

सैन्य विश्लेषकहरूका अनुसार यस्तो प्रविधिको प्रयोगले युद्धको स्वरूप नै परिवर्तन गर्न सक्छ । तर यसले नैतिकता, नियन्त्रण र भविष्यका युद्धका स्वरूपबारे गम्भीर बहस पनि सुरु गराएको छ ।