+

अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै

१७ बैशाख २०८३, बिहीबार ०८:१५

काठमाडौं । दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत एवं भारतका लागि अमेरिकी राजदूत सर्जियो गोर चार दिने नेपाल भ्रमणमा आज साँझ नेपाल आउँदैछन्। राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वास पात्रमध्ये एक सर्जियो भारतहुँदै नेपाल आउन लागेका हुन् ।

राजदूत सर्जियोको नेपाल भ्रमणका सन्दर्भमा केही दिनअघि भारतस्थित नेपाली दूतावासका उपप्रमुख डा.सुरेन्द्र थापाले भारतस्थित अमेरिकी दूतावासका उपप्रमुख जेसन मिकसँग भेट गरेका थिए ।

नेपाल भ्रमणका क्रममा गोरले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग भेटघाट गर्ने बताइएको छ । प्रधानमन्त्री शाहको सचिवालले भने हालसम्म भेटघाट समय सुनिश्चित नभएको दाबी गरेपनि भेटघाटका लागि दबाब आएको बुझिएको छ । गोरले प्रधानमन्त्री बालेन शाहसँग शुक्रबार वा शनिबार अथवा उनको सुविधाअनुसार अन्य कुनै समयमा भेट गर्न समय मागेका छन्।

अमेरिकी सहायक विदेश मन्त्री एस.पावल कपुरले केहिदिन अघिमात्रै भ्रमण गरेर गएको बेला राजदूत सर्जियाको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रधानमन्त्री शाहले अमेरिकाका सहायक विदेश मन्त्री समीर पॉल कपूरसँग पनि भेट गरेका थिएनन्। राष्ट्रपति ट्रम्पको सचिवालयमा काम गरिसकेका सर्जियोको भ्रमण एउटा राजदूतको रूपमा मात्र नभई ट्रम्पको दूतको रूपमा भइहरेको जानकारहरू बताउँछन् ।

गोरले नेपालका अर्थ मन्त्री स्वर्णिम वाग्ले, विदेश मन्त्री शिशिर खनाल, विदेश सचिव अमृत बहादुर राय लगायत अन्य अधिकारी र नेताहरूसँग भेट गर्नेछन्।

सर्जियो गोर हाल भारतका लागि अमेरिकी राजदूत हुन्। उनलाई ट्रम्पका निकट मानिन्छ। भारतमा राजदूतको रूपमा जिम्मेवारी निर्वाह गर्नुका साथै, ट्रम्पले उनलाई दक्षिण र मध्य एशियाका लागि विशेष दूत पनि नियुक्त गरेका छन्। यो पदका कारण गोर सहायक विदेश मन्त्री कपूरभन्दा उच्च स्तरका अधिकारी मानिन्छन्।