काठमाडौं । राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नियुक्ति दिएकी आदर्शकुमार श्रेष्ठ दुई महिना पनि नपुग्दै बर्खास्तीको मुखमा पुगेका छन् ।
सरकारले ल्याएको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ शनिबार राष्ट्रपतिले जारी गरेसँगै उनको पद पनि धरापमा परेको हो ।
प्रधानमन्त्री एवम् कोषकी संरक्षक सुशीला कार्कीले श्रेष्ठलाई विवादका बीच आगामी ५ वर्षका लागि उक्त पदमा मनोनयन गरेकी थिइन् । तर अन्य सार्वजनिक निकायका पदाधिकारीलाई हटाउने चक्करमा उनी पनि त्यही घानमा परेर पदमुक्त हुने सम्भावना देखिएको हो ।
यसअघिका अध्यक्ष ऐनबहादुर शाहीले पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा सिन्धुलीका श्रेष्ठलाई मनोनीत गरिएको हो । उनले अब कोषको सञ्चालक समितिको अध्यक्षता गर्ने छन् । अब यो कानुन कार्यान्वयनमा गएसँगै उनको पद पनि जाने भएको हो ।


