काठमाडौं। नेपाली बजारमा साताको पहिलो कारोबारका दिन सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्यमा वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो।
महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँ तोकेको छ। गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९६ हजार १०० रुपैयाँमा किनबेच भएको थियो।
सुनको भाउ ओरालो लागे पनि चाँदीको मूल्यमा भने बढोत्तरी भएको छ। आज चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर ५ हजार १० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९४५ रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्यमा उतारचढाव देखिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज विश्व बजारमा सुन प्रतिऔंस ४ हजार ७५० अमेरिकी डलर र चाँदी प्रतिऔंस ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारको मूल्य र डलरको विनिमय दरका आधारमा महासंघले नेपाली बजारमा दैनिक मूल्य निर्धारण गर्ने गर्दछ।


