वासिङ्टन डीसी । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले क्युबामाथि आक्रमण गर्ने अमेरिकाको कुनै योजना नरहेको बताएका छन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइ उद्धृत गर्दै सो कुरा बताएका हुन् ।
ह्वाइट हाउसमा बिहीबार भएको भेटपछि ब्राजिलियन दूतावासमा आयोजित पत्रकार सम्मेलनमा लुलाले भने, ‘मैले उहाँलाई सुनेँ, अनुवाद सही थियो भने उहाँले क्युबामाथि आक्रमण गर्ने कुनै उद्देश्य नरहेको बताउनुभयो ।’
लुलाले यो सकारात्मक सङ्केत भएको बताउँदै क्युबा अमेरिकासँग कूटनीतिक संवाद गर्न इच्छुक रहेको समेत बताए । उनले भने, ‘क्युबा वार्ता गर्न चाहन्छ र सन् १९५९ को क्रान्तिपछि लगाइएको नाकाबन्दी अन्त्य गर्न समाधान खोज्न चाहन्छ ।’
हालसम्म ह्वाइट हाउसले यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन । यसअघि ट्रम्प प्रशासनले क्युबामाथि दबाब बढाउँदै आएको थियो । ट्रम्प प्रशासनले त्यहाँको सरकारलाई अमेरिकी राष्ट्रिय सुरक्षाका लागि खतरा भएको दाबी गर्दै थप प्रतिबन्धहरू लगाएको छ । गत साता ट्रम्पले अमेरिकाले छिट्टै क्युबालाई आफ्नो नियन्त्रणमा लिने अभिव्यक्ति दिएका थिए ।
उनले इरानसँगको तनाव समाप्त भएपछि क्युबाको समुद्री सीमा बाहिर अमेरिकी विमानवाहक युद्धपोत तैनाथ गर्ने काल्पनिक सम्भावनाबारे पनि चर्चा गरेका थिए । त्यसैगरी, ट्रम्पले हालै क्युबा सरकारसँग सम्बन्धित व्यक्तिहरूमाथि थप आर्थिक तथा यात्रा प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यसअन्तर्गत प्रतिबन्धित व्यक्तिहरूसँग सम्बन्धित सम्पत्ति र वित्तीय स्वार्थ रोक्का गर्न सकिनेछ भने अमेरिकी नागरिकहरूलाई उनीहरूसँग आर्थिक कारोबार गर्न ठुलो हदसम्म निषेध गरिएको छ ।
नयाँ प्रतिबन्धमा क्युबा सरकारसँग सम्बन्धित केही व्यक्तिलाई अमेरिकामा प्रवेशमा रोक लगाउने व्यवस्था पनि समावेश छ । क्युबाली नेताहरूले भने यी प्रतिबन्धहरूको आलोचना गर्दै अमेरिकाले आफ्नो सरकारलाई डर देखाउन खोजिरहेको बताउँदै आएका छन् ।


