भद्रपुर (झापा)। जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी परेका छन्। बाह्रदशी गाउँपालिका-२ बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आज बिहानको खानामा जङ्गली च्याउको परिकार बनाएर खाँदा बिरामी परेका हुन्।
जङ्गलीबाट ल्याइएको च्याउ पकाएर खाएपछि परिवार सबै सदस्यमा स्वास्थ्य समस्या देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताए। उनका अनुसार ५० वर्षीया कमलामाया खवास, ३१ वर्षीय डिल्ली खवास, २० वर्षीया अनिता खवाससहित आठ जना बालबालिका बिरामी परेका हुन्।
बिरामीलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकामा प्रारम्भिक उपचारपछि नौ जनालाई दमकस्थित बाल अस्पतालमा थप उपचारका लागि पठाइएको खड्काले जानकारी दिए। उनका अनुसार बिरामीमध्ये दुई जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य छ।
यसैबीच, प्रहरीले जङ्गली च्याउ सेवन गर्दा विषाक्त हुने र स्वास्थ्य समस्याको जोखिम रहने भएकाले पहिचान नभएका च्याउ नखान सर्वसाधारणलाई आग्रह गरेको छ।


