काठमाडौं। नेपाली कांग्रेसकी राष्ट्रिय सभा सांसद कमला पन्तले वर्तमान सरकारले संसदको क्षेत्राधिकार मिच्दै स्वेच्छाचारी र निरंकुश शैली अपनाएको आरोप लगाएकी छन्।
राष्ट्रिय सभाको २१औँ अधिवेशनको बैठकमा बोल्दै उहाँले सरकारका प्रारम्भिक गतिविधि र प्राथमिकता निर्धारण गर्ने शैली गरिबविरोधी तथा शासकीय अहंकारबाट ग्रसित रहेको टिप्पणी गरिन्।
फागुन २१ को निर्वाचनपछि सुरु भएको पहिलो बजेट अधिवेशनप्रति जनताले राजनीतिक स्थिरता र आर्थिक विकासको ठूलो अपेक्षा राखे पनि सरकारको व्यवहारले सर्वसाधारणमा निराशा मात्रै पैदा गरेको उनको भनाइ थियो।
सांसद पन्तले प्रतिनिधिसभाको संवैधानिक अधिकार प्रयोग गरेर बनेको नयाँ सरकारले नै संसदलाई आफ्नो पहिलो निशानामा पारेको दाबी गरिन्।
बोलाइसकेको संसद बैठक विना आधार र कारण स्थगित गरिनु र कानुन निर्माण गर्ने संसदको विशेषाधिकारलाई नजरअन्दाज गर्दै अध्यादेशको ओइरो लगाउनुले सरकारको बदनियत प्रस्ट हुने उनले उल्लेख गरिन्।
सरकारका कामकारबाही लोकतान्त्रिक मूल्यमान्यता विपरीत रहेको भन्दै उनले बजेट वक्तव्य र त्यससँग सम्बन्धित कार्यहरूमा समेत सरकारको व्यवहार केवल कर्मकाण्डी मात्र देखिएको आरोप लगाइन्।
लोकतान्त्रिक प्रक्रियालाई कमजोर बनाउने यस्ता गतिविधिले जनताको मतको अपमान गरेको भन्दै उनले सरकारलाई सच्चिन चेतावनी दिइन्।


