बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको उच्चस्तरीय भेटवार्तापछि दुवै देशबीच ‘उत्कृष्ट व्यापार सम्झौता’ भएको दाबी गरेका छन् । विश्वका दुई प्रमुख आर्थिक शक्तिबीच व्यापार, प्रविधि, उड्डयन र अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी विषयमा केन्द्रित शिखर वार्तापछि ट्रम्पले भ्रमणलाई ‘धेरै सफल’ भएको प्रतिक्रिया दिएका हुन् ।
बेइजिङमा आयोजित महाशक्ति शिखर सम्मेलनको अन्तिम चरणको वार्तापछि ट्रम्पले दुवै देशका लागि लाभदायक हुने खालका महत्त्वपूर्ण व्यापारिक समझदारी बनेको बताए । फरबिडन सिटी नजिकै रहेको चिनियाँ केन्द्रीय नेतृत्व परिसर झोङनानहाइको बगैँचामा सीसँग सँगै हिँड्दै उनले ‘दुवै मुलुकका लागि निकै राम्रो हुने व्यापार सम्झौताहरू सम्पन्न भएको’ उल्लेख गरे ।
ट्रम्पले कृषि, उड्डयन, ऊर्जा र आर्टिफिसियल इन्टेलिजेन्सलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यसहित बेइजिङ भ्रमण गरेका थिए । साथै मध्यपूर्वको तनावपूर्ण अवस्थादेखि विश्वव्यापी रणनीतिक मतभेदसम्मका विषयमा संवाद कायम राख्ने प्रयास पनि भ्रमणको प्रमुख एजेन्डामा रहेको बताइएको छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले भ्रमणलाई ‘माइलस्टोन’ अर्थात् ऐतिहासिक महत्त्वको भ्रमणका रूपमा वर्णन गर्दै दुवै देशले ‘रचनात्मक रणनीतिक स्थिरतामा आधारित नयाँ सम्बन्ध’ निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए । उनले भविष्यमा सम्बन्धलाई थप सन्तुलित र स्थिर बनाउने दिशामा सहकार्य जारी रहने विश्वास व्यक्त गरे ।
सीले अमेरिकी राष्ट्रपति ट्रम्पलाई ह्वाइट हाउसको रोज गार्डेनका लागि चिनियाँ फूलका बिउ पठाउने वाचा पनि गरेका थिए । यसलाई दुई नेताबीचको व्यक्तिगत सम्बन्धलाई मैत्रीपूर्ण बनाउन गरिएको साङ्केतिक पहलका रूपमा हेरिएको छ ।
शिखर सम्मेलनको पहिलो दिनपछि फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले सी जिनपिङ अमेरिकी पक्षका धेरै प्राथमिकतामा सकारात्मक देखिएको बताए । उनका अनुसार चीनले अमेरिकी बोइङ कम्पनीका ‘२०० वटा ठूला जेट विमान’ खरिद गर्ने समझदारी जनाएको छ । यद्यपि यसबारे औपचारिक विवरण सार्वजनिक गरिएको छैन ।
ट्रम्पले चीनले अमेरिकी तेल र सोयाबिन खरिदमा पनि रुचि देखाएको जानकारी दिए । पछिल्ला वर्षहरूमा व्यापारिक कर र द्विपक्षीय तनावका कारण चीनले अमेरिकी कृषि उत्पादन खरिद घटाउँदै ब्राजिलतर्फ झुकेको थियो । त्यसैले नयाँ समझदारीले अमेरिकी कृषि बजारलाई राहत दिनसक्ने विश्लेषण गरिएको छ ।
भेटवार्ताका क्रममा मध्यपूर्वको अवस्थाबारे पनि छलफल भएको अमेरिकी पक्षले जनाएको छ । ट्रम्पका अनुसार सी जिनपिङले इरानलाई सैन्य सहयोग उपलब्ध गराउने विषयमा चीनको कुनै योजना नरहेको स्पष्ट पारेका थिए । साथै विश्व व्यापारका लागि अत्यन्त महत्त्वपूर्ण मानिने हर्मुज जलघाँटी खुला राख्नुपर्ने पक्षमा चीन रहेको उनले उल्लेख गरे ।
यसैबीच चिनियाँ विदेश मन्त्रालयले शुक्रबार जारी गरेको वक्तव्यमा ‘व्यापक र दिगो युद्धविराम’ को आवश्यकता औँल्याउँदै अन्तर्राष्ट्रिय ढुवानी मार्गहरू यथाशीघ्र सामान्य अवस्थामा फर्काइनुपर्ने बताएको छ ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले ट्रम्प र सीबीच आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को सुरक्षित र जिम्मेवार प्रयोगका लागि साझा ‘गार्डरेल’ अर्थात् नियामकीय सीमारेखा निर्माणबारे पनि छलफल भएको जानकारी दिए । उनले विश्वका ‘दुई एआई महाशक्ति’ बीच संवाद सुरु हुनु महत्त्वपूर्ण भएको बताए ।
यद्यपि उन्नत प्रविधिमा अमेरिकी निर्यात नियन्त्रण र चिनियाँ प्रविधि पहुँचसम्बन्धी विवाद अझै संवेदनशील विषयका रूपमा कायम रहेको विश्लेषण गरिएको छ ।


