काठमाडौँ । विश्व सडक सुरक्षा सप्ताह–२०२६ को अवसर पारेर काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडक सुरक्षा तथा ट्राफिक अनुशासनसम्बन्धी व्यापक जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।
बढ्दो सवारी चाप, अव्यवस्थित ट्राफिक प्रणाली र सडक दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यसहित सञ्चालन गरिएको उक्त अभियानअन्तर्गत उपत्यकाका व्यस्त क्षेत्रमा सचेतनामूलक गतिविधि गरिएको हो । शुक्रबार बिहानदेखि काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख चोक तथा सार्वजनिकस्थलमा प्लेकार्ड, ब्यानर प्रदर्शन, पर्चापम्पलेट तथा स्टिकर वितरण कार्यक्रम सञ्चालन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
साथै दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी चालक, सहचालक र यात्रुहरूलाई लक्षित गर्दै ‘दुई मिनेट ट्राफिक सचेतना’ कार्यक्रमसमेत सञ्चालन गरिएको थियो । कार्यक्रममा सहभागी ट्राफिक प्रहरीले सडक सुरक्षासम्बन्धी आधारभूत नियमहरूको जानकारी दिँदै यात्रु र चालकलाई जिम्मेवार ढङ्गले सवारी सञ्चालन गर्न आग्रह गरे ।
विशेषगरी हेल्मेट तथा सिटबेल्टको अनिवार्य प्रयोग, मादक पदार्थ सेवन गरेर सवारी नचलाउने, ओभरस्पिड नगर्ने, ट्राफिक सङ्केतको पालना गर्ने, पैदल यात्रुको सुरक्षामा ध्यान दिनुपर्नेलगायत विषयमा जोड दिइएको थियो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले विश्व सडक सुरक्षा सप्ताहलाई प्रभावकारी रूपमा मनाउन विभिन्न चरणका कार्यक्रम सञ्चालन भइरहेका जानकारी दिए ।
उनले भने, “सप्ताहअन्तर्गत आज उपत्यकाका विभिन्न स्थानमा ट्राफिक सचेतना कार्यक्रम आयोजना गरेका छौँ । सवारी चालक, सहचालक र यात्रुहरूमा ट्राफिक नियमप्रति जिम्मेवारी बोध गराई सडक दुर्घटना न्यूनीकरण गर्नु हाम्रो प्रमुख लक्ष्य हो ।”
प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले सार्वजनिक यातायात क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्नसमेत ट्राफिक प्रहरीले विशेष अभियान सञ्चालन गरिरहेको बताउनुभयो । उहाँका अनुसार सडक दुर्घटनाबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्नु अभियानको मुख्य उद्देश्य हो ।
सार्वजनिक सवारीसाधनमा आरक्षण सिटको अनिवार्य कार्यान्वयन, भाडादर सूची स्पष्ट र यात्रुले सहजै देख्न सक्ने स्थानमा टाँस गर्नुपर्ने व्यवस्था, सवारीसाधनमा सिसीटिभी क्यामेरा जडान तथा जिपिएस प्रणाली लागू गरी यात्रुको सुरक्षालाई थप सुदृढ बनाउने विषयमा चालक तथा व्यवसायीलाई सचेत गराइएको प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले जानकारी दिए ।
प्रहरीका अनुसार पछिल्लो समय काठमाडौँ उपत्यकामा सवारीसाधनको अत्यधिक चाप बढ्दै गएको छ । साँघुरा सडक, अव्यवस्थित पार्किङ, ट्राफिक नियम उल्लङ्घन तथा लापरवाहीका कारण सडक दुर्घटनाको जोखिम बढिरहेको अवस्थामा जनचेतनामूलक कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
कार्यक्रममा ट्राफिक प्रहरीले सार्वजनिक सवारी चालकलाई यात्रुमैत्री व्यवहार अपनाउन, क्षमताभन्दा बढी यात्रु नराख्न, मोबाइल फोन प्रयोग गर्दै सवारी नचलाउन तथा ट्राफिक सङ्केतको पूर्ण पालना गर्न आग्रह गरेको थियो । त्यस्तै, मोटरसाइकल चालकहरूलाई हेल्मेटको सही प्रयोग तथा चार पाङ्ग्रे सवारी चालकलाई सिटबेल्ट अनिवार्य लगाउन विशेष अनुरोध गरिएको थियो ।
उपत्यकाका विभिन्न विद्यालय, कलेज तथा समुदायसँग सहकार्य गरी ट्राफिक शिक्षा कार्यक्रम सञ्चालन गरिँदै आएको ट्राफिक प्रहरीले जनाएको छ । विद्यालय तहदेखि नै ट्राफिक सचेतना विस्तार गर्न सके भविष्यमा सडक अनुशासन कायम गर्न सहज हुने विश्वास प्रहरीको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर प्रत्येक वर्ष लाखौँ मानिस सडक दुर्घटनाका कारण ज्यान गुमाउने गरेका छन् । नेपालमा पनि सडक दुर्घटना चुनौतीपूर्ण बन्दै गएको अवस्थामा सरकारी निकाय तथा सरोकारवालाले संयुक्त रूपमा सडक सुरक्षा अभियानलाई प्राथमिकतामा राख्दै आएका छन् ।
ट्राफिक प्रहरीले आगामी दिनमा पनि सडक सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । दुर्घटनामुक्त, सुरक्षित र व्यवस्थित सडक प्रणाली निर्माणका लागि सबै नागरिकको सहकार्य आवश्यक रहेको प्रहरीको भनाइ छ ।


