+

काठमाडौँ महानगरद्वारा १ हजार ४६६ शिक्षकलाई तालिम

२ जेष्ठ २०८३, शनिबार १०:३६

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न एक हजार ४६६ शिक्षकलाई तालिम प्रदान गरेको छ ।

महानगरका शिक्षा अधिकारी नमराज ढकालले नगरपालिकाभित्रका सबै शिक्षकलाई क्षमता विकासको समान अवसर प्रदान गर्ने गरी तालिका, समय र विषय छनोट गरेर तालिम सञ्चालन गरिएको जानकारी दिए । सञ्चालन गरिएका तालिममा बाल विकास सहजकर्तातर्फ १२४ जना, मनोवैज्ञानिक र मनोसामाजिक परामर्शसम्बन्धी तालिममा १३४, नेपाल भाषा प्रशिक्षणमा सामुदायिक विद्यालयतर्फ १६४ र संस्थागततर्फ ११६ जना रहेका छन् ।

सूचना तथा प्रविधिसम्बन्धी तालिममा ३८५, एकीकृत पाठ्यक्रम कार्यान्वयन तथा मूल्याङ्कन र विषयगत रूपमा प्रश्न पत्र निर्माण तथा विद्यार्थी मूल्याङ्कनसम्बन्धी तालिममा ४६० जना तथा प्रारम्भिक बाल शिक्षादेखि कक्षा तीनसम्म अध्ययनरत विद्यार्थीको अपाङ्गता पहिचानसम्बन्धी तालिममा ८३ शिक्षक सहभागी भएका थिए ।

शिक्षकको क्षमता विकास गर्ने, यसरी सिकेको ज्ञान, सिप र आचरणलाई कक्षा कोठामा प्रदर्शन गर्न प्रोत्साहन गर्ने कार्यक्रमबाट सामुदायिक शिक्षा सुधारको कार्यक्रम अगाडि बढाइएको महानगरका शिक्षा अधिकारी ढकालले बताए ।