काठमाडौं। इन्टरनेट तथा सूचना–सञ्चार प्रविधि (आइसिटी) को माध्यमबाट समाज र अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने तथा डिजिटल असमानता घटाउने उद्देश्यका साथ आज (मे १७ मा) विश्वभर ‘विश्व दूरसञ्चार तथा सूचना समाज दिवस’ विविध कार्यक्रम गरी मनाइँदैछ।
यस दिवसको मुख्य जोड ‘डिजिटल विभाजन’ लाई कम गर्नु रहेको छ। डिजिटल विभाजन भन्नाले आधुनिक सूचना प्रविधि (जस्तै इन्टरनेट, कम्प्युटर, स्मार्टफोन) मा सहज पहुँच भएका र यसबाट वञ्चित रहेका व्यक्ति, समुदाय वा क्षेत्रबीचको असमानतालाई बुझाउँछ।
विशेषगरी सहरी क्षेत्रका नागरिकले सहजै इन्टरनेट र अनलाइन सेवा उपभोग गरिरहँदा दुर्गम गाउँका मानिसहरू प्रविधिको प्रयोग, डिजिटल शिक्षा र अवसरबाट टाढा रहनु नै डिजिटल विभाजन हो, जसलाई न्यूनीकरण गर्न यो दिवसले पैरवी गर्दछ।
विश्व दूरसञ्चार दिवस मनाउन थालिएको इतिहास सन् १९६९ देखि सुरु भएको हो। सन् १८६५ मे १७ का दिन पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ महासन्धिमा हस्ताक्षर भएको र अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु) को स्थापना भएको ऐतिहासिक सम्झनामा यो दिवस तय गरिएको हो। पछि सन् १९७३ मा स्पेनमा भएको आइटियुको सम्मेलनले यसलाई औपचारिक रूपमा अनुमोदन गरेको थियो।
त्यस्तै, सन् २००५ मा सम्पन्न सूचना समाजसम्बन्धी विश्व शिखर सम्मेलन (डब्ल्युएसआइएस) को आग्रह बमोजिम संयुक्त राष्ट्रसङ्घीय महासभाले सन् २००६ मा एउटा प्रस्ताव पारित गर्दै मे १७ लाई ‘विश्व सूचना समाज दिवस’ का रूपमा समेत मनाउने निर्णय गरेको हो।
संयुक्त राष्ट्रसंघका अनुसार प्रविधिको सही सदुपयोगबाट आर्थिक–सामाजिक विकासका अवसरहरू सिर्जना गर्नु र हरेक नागरिकलाई डिजिटल पहुँचको दायरामा ल्याउने वातावरण बनाउनु नै यस दिवसको मुख्य सन्देश हो।


