+

मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

४ जेष्ठ २०८३, सोमबार ०७:१५

काठमाडौं। नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको संयुक्त प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसै प्रणालीका कारण हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहने देखिन्छ। मधेस प्रदेश र अन्य प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली हुने भए तापनि बाँकी तराईका भू-भागहरूमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान बुलेटिन अनुसार आज दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूका साथै बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा र हिमपातको सम्भावना छ।

यसैगरी मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा बाँकी पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ। पहाडी र हिमाली क्षेत्रमा वर्षा र बदलीको सम्भावना रहँदा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागहरूमा भने तापक्रम बढ्ने र गर्मी बढ्ने महाशाखाको भनाइ छ।

आज रातिको मौसम पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली नै रहनेछ। देशका बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बदली हुने भए पनि तराईका भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ।

रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।