काठमाडौं। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज सोमबार बस्ने भएको छ। पार्टी कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार बैठक दिउँसो १ बजे भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवासमा बस्ने तय भएको छ।
यसअघि गत जेठ २ गतेका लागि तय गरिएको उक्त महत्त्वपूर्ण बैठक विशेष कारणवश सारेर आजका लागि तय गरिएको हो। पार्टीको ११औँ महाधिवेशन सम्पन्न भए पनि हालसम्म नेताहरूको कार्यविभाजन हुन नसकेकाले आजको बैठक मुख्य गरी सोही विषयमा केन्द्रित रहने नेताहरूले बताएका छन्।
पार्टीका एक पदाधिकारीका अनुसार आजको बैठकमा केन्द्रीय सदस्यहरूलाई पालिका स्तरको ठोस जिम्मेवारी दिएर कार्यक्षेत्रमा खटाउने विशेष तयारी गरिएको छ।
जस अन्तर्गत हरेक केन्द्रीय सदस्यलाई कम्तीमा एउटा स्थानीय तह (पालिका) को इन्चार्ज तोकिनेछ, जसले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई सांगठनिक रूपमा बलियो बनाउन जगैदेखि कमाण्ड सम्हाल्नेछन्। यसका साथै केन्द्रीय कमिटीका विभिन्न विभाग तथा निकायहरूमा पनि नेताहरूको जिम्मेवारी बाँडफाँड गर्ने गृहकार्य आजको बैठकले गर्नेछ।
आजको सचिवालय बैठकले सांगठनिक जिम्मेवारीका अतिरिक्त गत फागुन महिनामा सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनको निर्मम समीक्षा गर्नेछ। सो समीक्षाका लागि केन्द्रीय कमिटीको बृहत् बैठक बोलाउने र त्यसको मिति तय गर्ने जिम्मेवारी समेत आजको बैठकलाई रहेको बुझिएको छ।
यसबाहेक मुलुकको समसामयिक राजनीतिक अवस्था, सरकारले जबरजस्ती हटाएका सुकुम्बासीहरूको समस्या, उनीहरूको उचित व्यवस्थापन र सरकारका पछिल्ला काम कारबाहीले जनतामा पारेको नकारात्मक असरका बारेमा समेत बैठकमा गम्भीर छलफल हुने नेताहरूले जानकारी दिएका छन्।


