काठमाडौं । प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस भएका सर्वोच्च अदालतका न्यायाधीश डा.मनोजकुमार शर्माविरुद्धको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । संसदीय सुनुवाइ समितिको मङ्गलबारको बैठकमा प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना तथा उनीविरुद्ध प्राप्त उजुरीसम्बन्धी प्रक्रिया अगाडि बढाइएको हो ।
बैठकमा समिति सदस्यहरूलाई सम्बोधन गर्दै समिति सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध प्राप्त उजुरीहरूको व्यवस्थापन र वितरणबारे जानकारी दिए । प्राप्त उजुरीमध्ये केही इमेलमार्फत र केही खामबन्दी अवस्थामा रहेका छन् ।
‘गोप्य’ भनी वर्गीकरण गरिएका उजुरीहरूको गोपनीयता कायम राख्न उजुरीकर्ताको नाम हटाई कोडिङ गरेर मात्र सदस्यहरूलाई अध्ययनका लागि उपलब्ध गराउन सचिवालयलाई निर्देशन दिइएको छ । साथै, समितिले उजुरीको संवेदनशीलतालाई ध्यानमा राख्दै गोपनीयता कायम राख्न सांसद र सञ्चारकर्मीलाई समेत आग्रह गरेको छ ।
संसदीय सुनुवाइ समिति कार्यविधि २०८३ को दफा १९ बमोजिम प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माले आफ्नो कार्ययोजना समिति समक्ष पेश गरेका छन् । उक्त कार्ययोजना सदस्यहरूलाई अध्ययनका लागि वितरण गरिएको छ भने विद्युतीय प्रति उपलब्ध गराउन पनि सचिवालयलाई निर्देशन दिइएको छ ।
सुनुवाइ प्रक्रियालाई व्यवस्थित बनाउन समितिले आगामी कार्यदिशासमेत तय गरेको छ । जसअन्तर्गत उजुरीमाथि छलफल गर्ने, उजुरीकर्तालाई समितिमा उपस्थित गराउने तथा प्रस्तावित व्यक्तिलाई आमन्त्रण गरी सुनुवाइ सम्पन्न गर्ने योजना समावेश छ ।
सचिवालयद्वारा प्रस्तुत कार्ययोजनामाथि सदस्यहरूले धारणा राख्ने क्रम सुरु भएको छ । प्रस्तावित प्रधानन्यायाधीशको योग्यता, क्षमता र भावी योजनाबारे विस्तृत छलफलपछि समितिले उनको नाम अनुमोदन गर्ने वा नगर्ने विषयमा अन्तिम निर्णय गर्नेछ ।


